काठमाडौँ— काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज साँझ नक्साल गैरीधारास्थित जनकपुर फिस हाउस पुगेका छन्। उनले त्यहाँ जनकपुरे शैलीमा तयार गरिएका माछाका परिकारको स्वाद चाखेका छन्।
जनकपुर फिस हाउस मास्टरसेफ सन्तोष शाह र उनका दाजु दिलीप शाहको संयुक्त सञ्चालनमा रहेको हो। परिकार स्वादलिँदै मेयर शाहले भने, “यहाँ तयार गरिएका माछाका परिकारले मलाई तराईमा माछा खाएको सम्झना दिलायो। काठमाडौँमै जनकपुरे स्वाद पाइँदा निकै खुसी लाग्यो।”
उनी पत्नी सबिना काफ्लेसँग मिथिला थाली परिसरभित्र रहेको उक्त फिस हाउस पुगेका थिए।
सन्तोष शाह काठमाडौँ महानगरपालिकाका फूड सेफ्टी कन्सल्ट्यान्ट समेत हुन्। उनले गैरीधारा, झम्सिखेल र गौशालामा मिथिला थाली रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। गैरीधारामा जनकपुर फिस हाउस तथा जनकपुरमा आवास सुविधा सहितको मिथिला थाली रेस्टुरेन्ट समेत सञ्चालनमा छन्।
हाल जनकपुरे परिकारप्रेमीहरूबीच गैरीधारास्थित जनकपुर फिस हाउस लोकप्रिय बन्दै गएको छ। जनकपुरमा पाइने मौलिक माछाका स्वादहरू काठमाडौँमा पनि उपलब्ध गराउने उद्देश्यले शाह दाजुभाइले यो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।


