Saturday, November 7, 2026
Homeसामाचारजटिल हत्या प्रकरण समाधानमा उत्कृष्ट भूमिका: प्रहरी निरीक्षक सुभाष केसी ‘महिनाको सर्वोत्कृष्ट’

जटिल हत्या प्रकरण समाधानमा उत्कृष्ट भूमिका: प्रहरी निरीक्षक सुभाष केसी ‘महिनाको सर्वोत्कृष्ट’

विराटनगर — कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिले, झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसीलाई २०८२ साल कार्तिक महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।

केसी नेतृत्वको टोलीले कार्तिक ९ गते झापा अर्जुनधारा–४ दहिझोडा सामुदायिक वनमा अपहरण, शारीरिक बन्धक तथा ज्यानसम्बन्धी गम्भीर घटनामा संलग्न शंकितहरूको पहिचान र निगरानी सुरु गरेको थियो। घटनामा ३३ वर्षीय सरोज शर्माको हत्या भएको पुष्टि भइरहेकै अवस्थामा केसीले सूक्ष्म रूपमा तथ्यहरू जोड्दै अनुसन्धानलाई निर्णायक दिशातर्फ अघि बढाए।

उनकै निर्देशनमा कार्तिक १३ गते मेचीनगर–१३ स्थित सामुदायिक वनमा पीडितले प्रयोग गरेको गाडी जलेको अवस्थामा फेला पारिएको थियो। त्यसपछि घटनाको अनुक्रमलाई चरणबद्ध रूपमा विश्लेषण गर्दै केसीले टोलीसहित मुख्य शंकितलाई नियन्त्रणमा लिए। अनुसन्धानकै क्रममा मृतकको शरीर गाडिएको स्थान पहिचान गराई शव उत्खनन गर्न सफल भए, जसले घटनालाई प्रमाणमुखी बनायो।

घटना सार्वजनिक भएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका थिए र शंकितका घर तथा सम्पत्तिमा तोडफोडको प्रयाससम्म भएको थियो। तर, केसी नेतृत्वको टोलीले परिस्थितिलाई नियन्त्रणमा राख्दै दुवै पक्षको सुरक्षा सुनिश्चित गरेको थियो।

समाजमा शान्ति–सुरक्षा जोगाउँदै जटिल अपराधको अनुसन्धान सफलतापूर्वक निष्कर्षमा पुर्‍याएको योगदानका आधारमा प्रहरी निरीक्षक सुभाष केसीलाई ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको कोशी प्रदेश प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका