Saturday, November 7, 2026
Homeसामाचारछठको दोस्रो दिन आज ‘खरना’

छठको दोस्रो दिन आज ‘खरना’

महोत्तरी । छठपर्वको दोस्रो दिन आज बर्तालुहरू ‘खरना’ विधिका तयारीमा व्यस्त छन्। शनिबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालुहरू आज पञ्चमी तिथिमा ‘खरना’को तयारी गर्दैछन्।

परम्पराअनुसार बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभर निराहार व्रत बस्छन्। राति सक्खर, दूध र चामलबाट बनाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने चलन छ। त्यसपछि बर्तालुले उक्त खिरलाई प्रसादस्वरूप ग्रहण गर्छन्। मिथिलामा यो विधिलाई ‘खरना’ भनिन्छ। मधेसका महोत्तरीसहित विभिन्न जिल्लामा छठ लोकआस्थाको महापर्वका रूपमा मनाइँदै आएको छ।

छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चतुर्थीका दिन बर्तालुले आत्मशुद्धिका लागि उसिनो चामल मात्र खाने र लसुन, प्याज, कोदो, मुसुरोजस्ता धार्मिक दृष्टिले अशुद्ध मानिने परिकार नखाने परम्परा छ। मैथिली भाषामा नउसिनिएको अन्न (अर्बा) नखाने यो विधिलाई ‘अर्बा–अर्बाइन’ भनिन्छ। ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ विधि एउटै दिनमा सम्पन्न गरिन्छन्।

श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई विशेष महत्त्व दिने छठ पर्वमा आज बर्तालुले दिनभर उपवास बसेर बेलुका चन्द्रदर्शनपछि नयाँ माटाको चुल्हो र भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखी छठी मातालाई अर्पण गर्छन्। त्यसपछि बर्तालु र परिवारका सदस्यहरूले प्रसाद ग्रहण गर्छन्। मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्णका अनुसार ‘खरना’ विधिलाई स्वधर्म, आत्मसंरक्षण र पापमोचनको प्रतीकका रूपमा लिइन्छ।

पर्वको मुख्य विधि भोलि सोमबार कात्तिक शुक्ल षष्ठीका दिन सम्पन्न हुनेछ। यस दिन बर्तालुले सूर्य उपासनासहित निराहार व्रत बस्ने र सजाइएका घाटमा स्नान गरी अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्ने परम्परा छ। मिथिलामा यसलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ। त्यसैगरी सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य अर्पण गरी पर्व समापन गरिन्छ, जसलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

‘खरना’ विधिपछि सुरु हुने निराहार व्रत सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र तोडिन्छ।
छठ पर्वमा बनाइने प्रसाद—ठकुवा, भुसुवा लगायतका मिष्टान्न परिकार घरमा आमन्त्रण गरिएका इष्ट–मित्रलाई ख्वाउने र आफन्तकहाँ पुर्याउने मैथिल परम्परा रहिआएको छ।
यी परिकार ढिकी–जाँतोमा कुटिएको वा पिसिएको पीठोबाटै तयार पारिन्छ। साथै अर्घ्य दिने जलाशय किनारमा आकर्षक घाट निर्माण र सरसफाइलाई पनि विशेष महत्त्व दिइन्छ।

पहिले मधेसी मूलका हिन्दू समुदायमा सीमित यो पर्व अहिले पहाडी मूलका हिन्दू तथा अन्य धर्मावलम्बीले पनि उत्साहपूर्वक मनाउन थालेका छन्। यसरी सबै धर्म, संस्कृति र वर्गका मानिस सहभागी हुन थालेपछि छठपर्व अब साझा उत्सवका रूपमा विकसित भएको रामनन्दन महेन्द्र विश्वेश्वर क्याम्पस, जलेश्वरका प्राचार्य अजयकुमार झाले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका