भक्तपुर : पानी तान्ने मेसिन चोरी गरेको भन्दै कुटपिट गर्दा भक्तपुरमा एक जनाको मृत्यु भएको छ। काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङको भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए। घाइते गुरुङको मृत्यु भएपछि कुटपिटमा संलग्न पाँचजनालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
गुरुङका आफन्त प्रहरीको सम्पर्कमा नआइसकेकाले मृतकको पूर्ण विवरण प्राप्त हुन नसकेको गिरीले बताए। उनका अनुसार चोरी गर्ने व्यक्तिलाई कुटपिट गर्ने कार्यमा संलग्न भएको आशंकामा पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले भक्तपुरको चाँगुनारायण नपा- २ बस्ने ५० वर्षीय टेकबहादुर केसी, ३२ वर्षीय नवीन कोजू, भक्तपुर नपा ७ बस्ने ३७ वर्षीय विनोद लाखा, दोलखाको भीमेश्वर नपा ९ घर भई हाल चाँगुनारायण नपा २ बस्ने ३८ वर्षीय कमल खत्री फुँयाल र सुनसरीको बर्जु गापा ३ घर भई हाल चाँगुनारायण नपा ३ बस्ने ३४ वर्षीय सनिसकुमार रायलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार गुरुङले चैत २१ गते मध्यराती करिब साढे ११ बजेतिर चाँगुनारायण नपा २ बर्खेपाटीस्थित च्याउखेतीको लागि प्रयोगमा ल्याउने पोखरीको पानी तान्ने पम्प चोरी गर्ने प्रयास गर्दै थिए। पानी तान्ने पम्प चोरी गर्न लागेकै बखत विनोद लाखालगायतले देखेर उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको प्रहरीलाई जानकारी आएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।
‘प्रहरीलाई जानकारी आएपश्चात कुटपिट नगर्नु होला भनी सूचना दिने व्यक्तिलाई अनुराध गरी प्रहरी टोली पुग्दा निर्घात कुटपिट गरिसकेको पाइयो’, उनले थपे, ‘नाकबाट रगत बगेको घाइते अवस्थामा रहेकालाई तत्काल उपचारको लागि शुक्रबार राति नै भक्तपुर अस्पताल पुर्याइएको थियो।’
उनका अनुसार घाइतेको साथबाट मादक पदार्थको गन्ध पनि आइरहेको थियो। उपचारकै क्रममा आइतबार घाइते गुरुङको मृत्यु भएको उनले बताए।
सम्बन्धित चिकित्सकले दिमागमा रक्तश्राव भई घाइतेको मृत्यु भएको जानकारी दिएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए। कुटपिटबाटै गुरुङको मृत्यु भएको देखिएकाले अनुसन्धानका लागि पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला पारी कुटपिट गरी गम्भीर घाइते बनाउने पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनका आफन्त, परिवारजनलाई प्रहरीको सम्पर्कमा आउन प्रहरी नायव उपरीक्षक गिरीले अनुरोध गरेका छन्।
अन्नपूर्णबाट साभार