जनकपुर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चुरे दोहन गरेर ढुंगा, गिटी, बालुवा निकासी गर्ने केन्द्र सरकारको कार्यक्रम फिर्ता गर्न चेतावनी दिएका छन्।
बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले केन्द्र सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा समावेश भएको ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम हटाउन भनेका हुन्। यो कार्यक्रम नहटाए प्रदेश २ ले चुरे संरक्षणका लागि आवश्यक निर्णय लिने चेतावनीसमेत राउतले दिएका छन्।
‘नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन आग्रह गर्नुको साथै यस्तो कार्य तत्काल नरोकिए तराई मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ’, विज्ञप्तिमा भनिएको छ।
चुरे दोहनले तराईको बासस्थान गुम्ने, देशकै अन्न भण्डारको रुपमा रहेको तराई मरुभूमी हुने भन्दै यो निर्णयले जनताको बिल्लीबाठ हुने निश्चित भएको भन्दै उनले विरोध जनाएका हुन्।
‘चुरे क्षेत्रको माटो एकदमै कमजोर छ। चुरे दोहनले सबै प्राकृतिक सम्पदाले आफ्नो बासस्थान गुमाउने निश्चित छ,’ राउतले सार्वजनिक गरेको विज्ञप्तिमा भनेका छन्, ‘सरकारको यस्तो अदुरदर्शी निर्णयले प्रदेश नम्बर २ बाट ढुंगा, गिटी, बालुवा उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डारका रूपमा रहेको भू–भाग मरूभूमिकरण भई शतप्रतिशत जनताको विल्लीबाठ हुने निश्चित छ।’
प्रदेश २ लाई मरुभूमीकरणबाट जोगाउने कार्यमा प्रदेश सरकार सजग रहेको उनको भनाइ छ। ‘वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, पानी मुहान संरक्षको साथै प्रदेश २ लाई मरुभूमिकरण हुनबाट जोगाउने कार्यप्रति प्रदेश सरकार सजग छ’, विज्ञप्तिमा भनिएको छ।