काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ।
शुक्रबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै उक्त घटनाले पार्टीलाई स्तब्ध र मर्माहत बनाएको बताएका छन्। उनले मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
रास्वपाले घटनाको निष्पक्ष छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै कानुनी प्रक्रियामार्फत पीडित परिवारलाई न्याय दिलाउन पार्टीले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेको छ। पीडित परिवारलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन पनि पहल भइरहेको पार्टीले जनाएको छ।
यस्ता घटना पुनः नदोहोरोस् भन्नका लागि चुनावी अभियानमा प्रयोग हुने सवारी साधन सञ्चालनमा उच्च सतर्कता अपनाउन पार्टीपंक्ति, उम्मेदवार तथा चालकहरूलाई कडा निर्देशन दिइएको छ। सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राख्न सबैलाई आग्रह गरिएको छ।
रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिरको चुनावी प्रचारमा प्रयोग भएको बा १५ च ४२४४ नम्बरको कारले बिहीबार दिउँसो ईशनाथ नगरपालिका–४ मठियाटोलमा मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो।


