Saturday, November 7, 2026
Homeसामाचारचिसो बढेपछि हुम्लाको लिमी प्रहरी चौकी सदरमुकाम स्थानान्तरण

चिसो बढेपछि हुम्लाको लिमी प्रहरी चौकी सदरमुकाम स्थानान्तरण

हुम्ला । अत्यधिक चिसो बढेपछि उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–६ लिमीस्थित इलाका प्रहरी चौकी सुनखानी अस्थायी रूपमा सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ।

लिमीलगायत उच्च भेगमा तापक्रम माइनसमा झरेपछि चिसो असह्य बनेको कारण उक्त प्रहरी चौकी ६ महिनाका लागि सिमकोट सारिएको हो। गत असोज २४ र २५ गते परेको हिमपातपछि क्षेत्रको तापक्रम झन् घटेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीहरू सिमकोट फिर्ता भएका हुन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलका अनुसार, चिसो अत्यधिक बढेपछि सुरक्षाकर्मीलाई सिमकोट फर्कन निर्देशन दिइएको हो। नाम्खा गाउँपालिका–६ लिमीस्थित चौकीमा २३ जनाको दरबन्दी रहे पनि हाल प्रहरी नायब निरीक्षक नरबहादुर चन्दको नेतृत्वमा १४ जना प्रहरी कार्यरत थिए।

प्रहरी नायब निरीक्षक चन्दका अनुसार, बाक्लो हिमपातपछि चिसोले बस्नै नसक्ने अवस्था आएको थियो। “धाराको पानी समेत जम्ने र तापक्रम माइनस आठ डिग्री सेल्सियससम्म झरेपछि चौकीमा रहन कठिन भएपछि जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएर सिमकोट फर्किएका हौँ,” उनले भने।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका