काठमाडौँ । नेपाली सेनाले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहयोग गर्न पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।
विदेशी विज्ञसहितको टोलीलाई पावरहाउससम्म पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझावका लागि सेनाले घिसिङको सहयोग मागेको हो। सेनाको आग्रहपछि घिसिङ चिलिमे जलविद्युत् आयोजनाको सवारीसाधनमा उद्धारस्थलतर्फ प्रस्थान गरेको उनको सचिवालयले बुधबार जनाएको छ।
भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य जारी छ। प्रभावित नौ आयोजनामध्ये सात वटामा उद्धार कार्य भइरहेको जनाइएको छ।
यसैबीच, त्रिशूली बाढीबाट ठूलो जनधनको क्षति भएको छ। हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको र चार हजारभन्दा बढी बेपत्ता रहेको विवरण सार्वजनिक गरिएको छ।


