ठाकुरबाबा (बर्दिया): पछिल्ला केही महिनामा बर्दियामा चितुवाको आक्रमण बढ्दै गइरहेको छ, विशेष गरी बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन्। फागुन र चैत महिनाभित्र तीन बालक चितुवाको आक्रमणमा परेका छन्, जसमा एकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमारी चौधरीका अनुसार विसं २०८१ फागुन ३ गते साँझ करिब ८ बजे मधुवन नगरपालिका–९, धर्मबस्तीमा दुई वर्षीय बालक रिहान चलाउने चितुवाको सिकार बने। ती बालक सानीआमाको घरमा पाहुना आएका थिए।
चैत ९ गते मधुवन नगरपालिका–४ स्थित सरस्वती सामुदायिक वनबाट आएको चितुवाले माया नर्सरी नजिक खेलिरहेका चार वर्षीय शुभम् थारूलाई साँझ ६:३० बजे आक्रमण गर्यो। स्थानीयवासीको सहयोगमा बालकलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।
बुधबार दिउँसो करिब २ बजे गुलरिया नगरपालिका–४, इन्द्रेणी टोलका सात वर्षीय सिर्जन चौधरीलाई चितुवाले घरआँगनबाट लैजाने प्रयास गरेको थियो। स्थानीयको तत्कालको सहयोगमा उद्धार गरिए पनि उनको घाँटीमा गहिरो चोट लागेको छ। बर्दिया अस्पताल, गुलरियामा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तिमगरले जानकारी दिए।
चितुवाको लगातारको आक्रमणपछि स्थानीयवासी त्रसित बनेका छन्। वन तथा वातावरण संरक्षणमा संलग्न निकायले चितुवाको आतङ्क नियन्त्रण गर्न तत्काल आवश्यक उपाय अपनाउनुपर्ने स्थानीय नागरिकहरूले माग गरेका छन्।


