Sunday, November 8, 2026
Homeसामाचारचितुवाको आक्रमणमा महिला मृत्यु, बर्दियामा स्थानीयको आक्रोश

चितुवाको आक्रमणमा महिला मृत्यु, बर्दियामा स्थानीयको आक्रोश

गुलरिया (बर्दिया)। शुक्रबार साँझ धान गोड्दै गर्दा चितुवाको आक्रमणमा परि गुलरिया नगरपालिका–१२ भैसाहीकी ४३ वर्षीया जगतरानी थारूको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। मृतकका आफन्त र स्थानीयले चितुवा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका छन्।

शव बुझ्न अस्वीकार गर्दै आफन्तले चितुवा नियन्त्रणमा लिनुपर्ने अडान राखेका छन्। “फेरि पनि घटना हुनसक्छ, त्यसैले तत्काल चितुवा नियन्त्रण गर्नुपर्छ,” वडा सदस्य भावना चौधरीले बताइन्।

विरोधपछि पीडित पक्ष र जिल्ला प्रशासन कार्यालयबीच सहमति भएको छ। सहमति अनुसार डिभिजन वन, सुरक्षा निकाय, सामुदायिक वन र स्थानीय तहको समन्वयमा सुरक्षा व्यवस्था मिलाउने, चितुवा नियन्त्रणका लागि आवश्यकताअनुसार खोर राख्ने र पीडित परिवारलाई व्यवस्था अनुसार राहत उपलब्ध गराउने उल्लेख छ। वडाध्यक्ष रामकुमार थारूका अनुसार, प्रशासनले सहमति कार्यान्वयन सुरु गरेपछि मात्र आफन्तले शव बुझ्ने बताएका छन्। हाल शवको पोष्टमार्टम गरी बर्दिया अस्पतालमा राखिएको छ।

स्थानीयले भने पटक–पटक डिभिजन वन कार्यालयलाई जानकारी दिँदा पनि बेवास्ता भएकै कारण चितुवा आक्रमण बढेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, अहिले पनि नजिकैको सामुदायिक वन वरिपरि चितुवा देखिने क्रम जारी छ। यसअघि गुलरिया नगरपालिका–५ मा चितुवाको आक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका