चितवन: चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउने कार्य सुरू भएको छ। विगत एक सातादेखि घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाइँदै आएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो।
निकुञ्जका कर्मचारी, नेपाली सेना तथा सरोकारवाला टोलीको सहभागितामा नियन्त्रित डढेलो लगाइने गरिएको छ। थापामगरका अनुसार, “घाँसेमैदानमा रहेका जलनशील पदार्थलाई नियन्त्रित रूपमा डढाउँदा पछि अनियन्त्रित डढेलोको जोखिम कम हुन्छ।”
चितवन राष्ट्रिय निकुञ्जमा करिब १० हजार हेक्टर घाँसेमैदान रहेको छ, जसको हाल ३०० हेक्टर क्षेत्रफलमा मात्र व्यवस्थापन गरिएको छ। बजेट अभावका कारण सबै क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गर्न कठिन भएको निकुञ्ज प्रशासनले जनाएको छ।
नियन्त्रित डढेलोका फाइदा
वन्यजन्तुले नखाने घाँस हट्न मद्दत गर्छ।
नयाँ र कलिला घाँस पलाउँदा जनावरका लागि चरन सहज हुन्छ।
वन्यजन्तुलाई क्षति पुर्याउने जोखिम रहँदैन।
अनियन्त्रित डढेलोको सम्भावना घट्छ।
थापामगरका अनुसार, चर्को गर्मीमा डढेलो फैलने सम्भावना बढी हुने भएकाले यही मौसममा नियन्त्रित डढेलो लगाइन्छ। साथै, यसले वन्यजन्तु बस्तीमा पस्ने सम्भावना कम गर्छ भने पर्यापर्यटनमा असर नपर्ने उहाँको भनाइ छ।
चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तुहरू—गैँडा, बाघ, हात्ती, चित्तल आदिको वासस्थान हो। यहाँ विश्वभरबाट पर्यटकहरू जङ्गल सफारीका लागि आउने गर्छन्। नियन्त्रित डढेलोपछि पलाउने नयाँ घाँसका कारण वन्यजन्तु देख्न सहज हुने भएकाले पर्यटकहरूको चासो बढ्ने निकुञ्ज प्रशासनको विश्वास छ।
निकुञ्जभित्र चर्को गर्मीसँगै अनियन्त्रित डढेलो लाग्ने समस्या रहँदै आएको छ, जसले वन तथा वन्यजन्तुलाई क्षति पुर्याउने गर्छ। सीमित स्रोतसाधनका कारण अनियन्त्रित डढेलो नियन्त्रण चुनौतीपूर्ण हुने भए पनि क्षति न्यूनीकरणका लागि नियन्त्रित डढेलोको प्रयोग गरिने गरिएको छ।


