काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले ‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई समुदायलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व, र प्रगतिका लागि शुभेच्छा प्रकट गरेका हुन्।
उनले आफ्नो सन्देशमा नेपालको बहुधार्मिक, बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक पहिचानलाई जोड दिएका छन्। अध्यक्ष नेपालले धर्मनिरपेक्ष राष्ट्रको रूपमा घोषित नेपालको विविधतायुक्त चाडपर्वहरूले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।
शुभकामना सन्देशमा उनले क्रिसमसले आपसी सद्भाव, सहिष्णुता, र एकतालाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।


