Saturday, November 7, 2026
Homeसामाचारचर्को आवाज निकाल्ने आठ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

चर्को आवाज निकाल्ने आठ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं — काठमाडौं उपत्यकामा सवारीसाधनको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने आठ वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

उपत्यकाका विभिन्न क्षेत्रमा अत्यधिक आवाज निकाल्ने मोटरसाइकलका कारण स्थानीय बासिन्दाबाट गुनासो बढेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष चेकजाँच अभियान सञ्चालन गरेको हो।

काठमाडौंको तारकेश्वर नगरपालिका–८ अन्तर्गत नेपालटार र डाँडागाउँ सडकखण्डमा गरिएको विशेष निगरानीका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले जानकारी दिए।

उनका अनुसार स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्दै मोटरसाइकल चलाइने गरेको गुनासो आएपछि निगरानी बढाइएको थियो। सोही क्रममा सम्बन्धित निकायमा दर्ता नभई सञ्चालन भइरहेको एक आईटी ग्यारेजमा गरिएको चेकजाँचबाट आठ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो।

प्रहरीले ती मोटरसाइकलमा साइलेन्सर पाइप तथा अन्य संरचनामा अवैध परिवर्तन गरिएको फेला पारेको जनाएको छ। यस्ता परिवर्तनका कारण अत्यधिक ध्वनि उत्पन्न भई वातावरणीय प्रदूषण बढ्नुका साथै सर्वसाधारणको दैनिक जीवनमा प्रतिकूल असर पर्ने गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदी ले चर्को आवाज निकाल्ने सवारीसाधनले ध्वनि प्रदूषण मात्र नभई मानव स्वास्थ्यमा समेत गम्भीर असर पार्ने बताए। उनका अनुसार यस्तो ध्वनिका कारण बालबालिका, वृद्धवृद्धा, बिरामी तथा विद्यार्थी बढी प्रभावित हुने गरेका छन्।

नियन्त्रणमा लिइएका मोटरसाइकललाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ। हाल ती सवारीसाधन थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ।

ट्राफिक प्रहरीले सबै सवारी चालक तथा ग्यारेज सञ्चालकलाई कानुनले तोकेको मापदण्ड पालना गर्न तथा अवैध रूपमा सवारीसाधनको स्वरूप परिवर्तन नगर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका