Wednesday, May 14, 2025
Homeअन्तराष्ट्रियचन्दादाताले नै दिए बाइडेनलाई उम्मेदवारी छोड्न दबाब

चन्दादाताले नै दिए बाइडेनलाई उम्मेदवारी छोड्न दबाब

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति पदको लागि आफ्नो उम्मेदवारी नछाड्ने जिकिर गरिरहेका बेला चन्दादाताले नै उम्मेदवारी छाड्न दबाब दिएका छन्।

एबीसी न्यूजसँगको अन्तर्वार्तामा बाइडेनले आफुले उम्मेदवारी नछोड्ने बताउदै भने, “जबसम्म ईश्वर आफैं आएर मलाई उम्मेदवारी छोड भन्नुहुन्न, तबसम्म म पद त्याग्ने छैन ।”

डोनाल्ड ट्रम्पसँगको पहिलो बहस हारेपछि बाइडेनले उम्मेदवारी छोड्नुपर्ने धारणा बलियो हुँदै गएको छ । डेमोक्रेटिक पार्टीका नेता, कार्यकर्तादेखि अब चुनावको लागि चन्दा दिने कम्पनी र व्यक्तिहरुले समेत बाइडेनले आफ्नो उम्मेदवारी छोड्नुपर्ने बताउन थालेपछि दबाब बढेको छ ।

८१ बर्षिय बाइडेनको शारीरिक अवस्था र स्वास्थ्यका कारण उनले चुनावी क्याम्पेनमा ट्रम्पलाई चुनौती दिन नसक्ने र चुनाव जितेपछि राष्ट्रपतिको काम गर्न नसक्ने दलिल दिन शुरु गरिएको छ । तर बाइडेनले आफू राष्ट्रपतिको चुनाव लड्ने र ट्रम्पलाई हराउने विश्वास व्यक्त गरेका छन् ।

बाइडेनलाई उम्मेदवारी छोड्न दबाब बढिरहेका बेला उपराष्ट्रपति कमला ह्यारिश डेमोक्रेटबाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना बढिरहेको विश्लेषण हुन लागेको छ ।

आगामी अगस्त १९ देखि २२ सम्म हुने डेमोक्रेटिक पार्टीको नेशनल कन्भेन्सनसम्म यो विषय अझ चर्किने र सम्भवत बाइडेन उम्मेदवार नबन्ने विश्वास व्यक्त गरिएको छ ।

बाइडेनको उम्मेदवारी अनिश्चित भएपछि यसको असर डेमोक्रेट पार्टीको लागि चन्दा संकलनमा परिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

डेमोक्रेटिक पार्टीका लागि निर्वाचन कोष सङ्कलन गर्ने नेक्स्ट जेनेरेशन पीएसीले समेत बाइडेनलाई राष्ट्रपतिको दौडबाट पछि हट्न र उनको स्थानमा उपराष्ट्रपति कमला ह्यारिसलाई मौका दिनुपर्ने भनेको छ । उनी बाइडेन भन्दा राम्रो उम्मेदवार साबित हुन सक्ने जिकिर गरिएको छ ।

नेटफ्लिक्सका सह(संस्थापक रीड हेस्टिङ्सले सार्वजनिक रूपमा बाइडेनले उम्मेदवारी छोड्नु पर्ने बताएका छन् । हेस्टिङ्स र उनकी श्रीमती प्याटी क्विलिन डेमोक्र्याटिक पार्टीका सबैभन्दा ठूलो दाता हुन् ।

एक परोपकारी संस्था चलाउने गिडोन स्टेनले बाइडेन दौडबाट फिर्ता नहुन्जेल उनको परिवारले दिने भनेको करोडौंको चन्दा रोकेको बताइएको छ ।
उनीहरुले अधिकांश दाताहरूले ट्रम्पलाई हराउन डेमोक्र्याटहरूले नयाँ अनुहारलाई उम्मेदवार बनाउनुपर्ने विश्वास गरेका छन् । त्यस्तै डिज्नी कम्पनीका मालिक र फिल्म निर्माता अबिगेल ई। डिज्नीले बाइडेनले देशको धेरै सेवा गरेका छन्, तर डेमोक्र्याटहरूले अब नयाँ उम्मेद्वार नआएसम्म कुनै चन्दा नदिने बताएका छन् ।

धेरै जसो चन्दादाताले बाइडेनको उम्मेदवारी फिर्ता गर्नुपर्ने माग गरेपछि डेमोक्रेटिक पार्टी पनि दबाबमा परेको छ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका