Saturday, November 7, 2026
Homeसामाचारघ्याँसीखर्क र लुलाङ जोड्ने सडक चार महिनापछि सञ्चालन

घ्याँसीखर्क र लुलाङ जोड्ने सडक चार महिनापछि सञ्चालन

म्याग्दी — म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ घ्याँसीखर्क र धवलागिरि गाउँपालिका–२ लुलाङ जोड्ने सडकमा चार महिनापछि यातायात सञ्चालनमा आएको छ । गत असार महिनादेखि परेको अविरल वर्षाका कारण रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित मलाङ पहिरो र दरखोलामा बाढीको सतह बढ्दा सडक अवरुद्ध भएको थियो ।

धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरका अनुसार बर्खा रोकिएपछि पानीको सतह घटेपछि दरखोलामा ह्युमपाइप राखेर लुलाङ जोड्ने सडक सञ्चालनमा ल्याइएको हो । दरखोलामा अझै पनि स्थायी मोटरेबल पुल निर्माण नभएकाले प्रत्येक बर्खायाममा लुलाङ र गुर्जा गाउँतर्फको यातायात अवरुद्ध हुने गरेको उनले बताए ।

यस्तै, राहुघाट नदीमा निर्माणाधीन चिमखोला–राहुघाट–मङ्गले, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको सहयोगमा डोजर परिचालन गरी मलाङ पहिरो पन्छाएपछि चिमखोला हुँदै घ्याँसीखर्क जोड्ने सडक पनि सञ्चालनमा आएको छ ।

स्थानीय तहका अनुसार म्याग्दीका विकट क्षेत्रहरू — घ्याँसीखर्क, लुलाङ लगायत बर्खायाममा अवरुद्ध भएका सबै सडक मर्मत गरी हाल सञ्चालनमा ल्याइएका छन् । सडक सुचारु भएसँगै स्थानीय बासिन्दालाई आवतजावत, निर्माण सामग्री तथा खाद्यान्न ढुवानीमा सहजता भएको छ । साथै, ग्रामीण किसानहरूलाई कृषि र पशुजन्य वस्तु बिक्री वितरणमा पनि सुगमता आएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका