Sunday, November 8, 2026
Homeसामाचारघुससहित सशस्त्र प्रहरी जवान खत्री पक्राउ

घुससहित सशस्त्र प्रहरी जवान खत्री पक्राउ

काठमाडौँ, २७ साउनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोस्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीलाई घुससहित पक्राउ गरेको छ ।

सीमा पारी भारतबाट भन्सार छली अवैध रूपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेको अवस्थामा आयोगको बुटवल कार्यालयबाट गएको टोलीले खत्रीलाई पक्राउ गरेको हो ।

आरोपी खत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

यस्तै, आयोगले सोमबार नापी कार्यालय कलङ्कीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई पनि रु १३ हजार घुससहित पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउन सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कुँवरलाई पक्राउ गरेको हो ।

आयोगले नापी कार्यालय कलङ्कीका कार्यालय प्रमुखका दुई थान मोबाइल, सर्भेक्षकको एक थान मोबाइल र कार्यालय सहयोगी कुँवरको एक थान मोबाइल बरामद गरेको छ । आरोपी कुँवरको विरुद्ध पनि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका