काठमाडौँ, असार २५ — वाग्मती नदीको गौरीघाट र गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखाले जनाएको छ। निरन्तर वर्षापछि उक्त क्षेत्रहरूमा बाढीको सम्भावना बढेपछि स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको हो।
मङ्गलबार राति १२ बजेदेखि लगातार परेको वर्षाले करिब २ बजे नदीको सतह सतर्कता सीमा पार गरेको पुष्टि भएको महाशाखाका इञ्जिनीयर आशीष भट्टले राससलाई जानकारी दिनुभयो। त्यसपछि गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती र जोरपाटी क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सुरक्षित रहन मोबाइलमार्फत सन्देश पठाइएको उहाँले बताउनुभयो।
यस्तै, रुद्रमती (धोबीखोला) को कपन क्षेत्रमा पनि पानीको बहाव तीव्र भएर जलसतह सतर्कता सीमासम्म पुग्न लागेको छ।
राजधानीका अधिकांश भागमा राति १२ बजेदेखि करिब २५ मिलिमिटर प्रतिघण्टाको दरमा लगातार वर्षा भइरहेको हुँदा बाढीको जोखिम बढेको विभागले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सुरक्षित स्थानमा बस्न, नदी किनार नजान र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


