काठमाडौँ, १५ भदौ – राष्ट्रपति रामचन्द्र पौडेलले गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान पुर्याउँदै आपसी समझदारी, सद्भाव, दिगो शान्ति र भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
गौरापर्व–२०८२ को अवसरमा जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले यस्ता पर्वले विविधतामा एकता, सामाजिक तथा सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता बढाउने, परिवार र समाजलाई जोड्ने तथा राष्ट्रिय एकतालाई मजबुत बनाउन मद्दत गर्ने उल्लेख गर्नुभयो । उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिनुभयो ।
भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विशेष गरी नेपालको पश्चिमी क्षेत्रमा मनाइने गौरापर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रपतिले स्मरण गर्नुभयो ।
यस पर्वमा शिव–पार्वती (गौरा) को पूजा र व्रत बस्ने परम्परा रहिआएको छ । पाँच वा सोभन्दा बढी अन्न मिसाएर तयार पारिने ‘बिरुडा’ अर्पण गरी प्रसादका रूपमा ग्रहण गरिन्छ, जसले कृषि संस्कृति, पारिवारिक समृद्धि र मानवीय जीवनप्रति कृतज्ञता व्यक्त गर्ने विश्वास रहेको छ ।
स्थानीय समुदाय गोलबद्ध भई देउडा, धमारी, चैतलगायत लोकगीत–नृत्यमार्फत आपसी दुःख–सुख बाँड्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ । बिछोडिएका जोडीहरूको मिलन, भाइचाराको सम्बन्धमा वृद्धि र पतिपत्नीबीचको आत्मीयता प्रगाढ हुने विश्वासले गर्दा गौरापर्वलाई धुमधामका साथ मनाउने चलन रहेको राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभयो ।
“यस्ता पर्वहरूले संस्कृतिको संरक्षण गर्दै आध्यात्मिक आस्था र मानवीय जीवनमा सुख–शान्ति कायम गर्न सहयोग पुर्याउँदै आएका छन्,” राष्ट्रपति पौडेलले भन्नुभएको छ ।


