Saturday, November 7, 2026
Homeसामाचारगृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ

गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ

काठमाडौं । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति असन्तोष व्यक्त गर्दै, उनी एमाले नेताजस्तै व्यवहार गर्न थालेको आरोप लगाएका छन्।

बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँग पुगेका गुरुङले गृहमन्त्री अर्यालको एजेन्डा केवल चुनावमा केन्द्रित भएको आरोप लगाए। उनले भने, “बाँकी मन्त्रालयहरूले काम गरिरहेका छन्, तर गृह मन्त्रालयले गर्न सकेको छैन। उहाँको एजेन्डा चुनावमात्र रहेछ। हाम्रो एजेन्डा देशलाई न्याय दिलाउने र व्यवस्था परिवर्तनको हो। यस्तो अवस्थामा न्यायबिना चुनाव हुनै सक्दैन। उहाँले त जेनजीहरूलाई समातिराख्नुभएको छ, तर राजनीतिक दलहरूलाई भने छोएको पनि छैन। कहिलेकाहीँ त मलाई उहाँ (गृहमन्त्री) एमालेकै नेता हो कि जस्तो लाग्छ।”

गुरुङले जेनजी आन्दोलनको भावना अनुसार काम गर्न नसक्ने हो भने गृहमन्त्री अर्यालले मार्ग प्रशस्त गर्नुपर्ने सुझाव पनि दिए। उनले गृहमन्त्री अर्यालले आन्दोलनको भावना बुझेर काम गर्नुपर्ने बताए।

उनका अनुसार अहिले देशलाई जेनजी आन्दोलनको भावना अनुसार अघि बढाउने मन्त्रीहरूको आवश्यकता छ। उनले गृहमन्त्री बाहेक अन्य मन्त्रीहरूले भने आन्दोलनको मर्मअनुसार काम गरिरहेको दाबी गरे।

शिक्षा र स्वास्थ्य क्षेत्रलगायतमा चरम भ्रष्टाचार रहेको उल्लेख गर्दै गुरुङले सबै मिलेर देशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने आवश्यकता औंल्याए।

त्यस्तै, केही जेनजीहरू वडासम्म समिति बनाउन नसक्ने अवस्थामा रहेको बताए पनि आफूहरूले वडास्तरमै समितिहरू गठन गरिसकेको दाबी गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका