काठमाडौं: गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि भिजिट भिसा प्रकरणमा जालसाजी गरेको गम्भीर आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले रास्वपाले नक्कली पीडित खडा गरेर आफ्नाविरुद्ध झुटा जाहेरी दर्ता गर्न खोजेको दाबी गरे। उनका अनुसार केही पार्टी कार्यालयहरूमा व्यक्तिहरूलाई बोलाएर fabricated जाहेरी तयार पारिएको छ, जसको उद्देश्य उनको मानमर्दन गर्नु हो।
“केही पार्टी कार्यालयमा नक्कली पीडित बोलाएर मेरो नाममा जाहेरी लेख्ने र दर्ता गर्ने प्रयास भइरहेको छ,” उनले भने, “त्यस्ता पार्टी कार्यालय कुन हुन्, मलाई जानकारी भइसकेको छ। जालछाँट गरेर राजनीतिक लाभ उठाउने काम नगर्न म आग्रह गर्छु। दोषी पत्ता लगाएर कडा कारबाही गरिनेछ।”
गृहमन्त्री लेखकले रास्वपालाई सम्भावना बोकेको पार्टी भन्दै जालसाजीबाट टाढा रहन चेतावनी दिए। उनले रास्वपाका केही सांसदहरू आफूलाई पूर्व गृहमन्त्री रवि लामिछानेसँग जोडेर प्रतिशोधको राजनीति गरिरहेको आरोप पनि लगाए।
“हिजो श्रममन्त्री हुँदा मैले वैदेशिक रोजगार ऐन बनाएर चार देशसँग श्रम सम्झौता गरेको थिएँ। तर अहिले त्यसको सट्टा मलाई बदनाम गर्ने प्रयास भइरहेको छ,” उनले उल्लेख गरे।
गृहमन्त्रीले राजनीतिक मर्यादा कायम राख्दै सत्य र न्यायका आधारमा अघि बढ्न सबैलाई आग्रह गरे।


