काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र गुयानाको उत्तरी एटलान्टिक तटीय क्षेत्रमा ११६ यात्रु बोकेको यात्रुवाहक डुङ्गा समुद्रमा पल्टिँदा ठूलो दुर्घटना भएको छ। दुर्घटनापछि सञ्चालन गरिएको उद्धार अभियानमा हालसम्म १५ बालबालिकासहित ६७ जनाको सकुशल उद्धार गरिएको छ भने बाँकी बेपत्ता यात्रुको खोजी कार्य जारी रहेको छ।
समाचार एजेन्सीहरूका अनुसार ‘एमभी बारिमा’ नामक डुङ्गा राजधानी जर्जटाउनबाट पोर्ट क्याटुमातर्फ जाँदै गर्दा पोमेरुन नदी नजिक दुर्घटनामा परेको हो। राति करिब ११ बजे आपतकालीन सूचना प्राप्त भएपछि सरकारी निकायले तत्काल उद्धार अभियान सुरु गरेका थिए। उद्धार कार्यमा सरकारी टोलीसँगै निजी डुङ्गाहरू पनि परिचालन गरिएको छ।
अधिकारीहरूका अनुसार हालसम्म दुर्घटनामा कुनै यात्रुको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन। त्यसैले बेपत्ता यात्रुको जीवितै उद्धारमा उद्धार टोलीले प्राथमिकता दिएको छ। उद्धार गरिएका यात्रुको उपचारका लागि तटीय क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।
गुयानाका सार्वजनिक निर्माण मन्त्री जुआन एडघिलले डुङ्गामा पर्याप्त सुरक्षा सामग्री रहेको बताएका छन्। उनका अनुसार डुङ्गामा २५० वटा लाइफ ज्याकेट, दुईवटा लाइफ राफ्ट तथा छ वटा फुलाउन मिल्ने उद्धार डुङ्गा उपलब्ध थिए।
यति धेरै सुरक्षा व्यवस्था हुँदाहुँदै पनि दुर्घटना कसरी भयो भन्ने विषयमा सरकारले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक रूपमा दुर्घटनाको कारण खुल्न नसकेको जनाउँदै अधिकारीहरूले उद्धार अभियान सम्पन्न भएपछि विस्तृत छानबिन गरिने बताएका छन्।
उता बेपत्ता यात्रुका परिवारजन भने उद्धार अभियानको प्रगतिबारे जानकारीको प्रतीक्षामा तटीय क्षेत्रमा भेला भएका छन्।


