इलाम: सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले २२ वर्षको उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ’ सकाएर गाउँ फर्किएर सुरु गरेको इँटा उद्योगले छ वर्षमा उल्लेखनीय सफलता हात पारेको छ।
“पन्ध्र लाख रुपैयाँ लगानीमा सुरु गरेको उद्योग अहिले ४५ लाख रुपैयाँको लगानीमा विस्तार भएको छ,” प्रमोदले भन्नुभयो। “यस उद्योगबाट अहिलेसम्म ४५० भन्दा बढी भवन निर्माणका लागि तीन लाख ५० हजारभन्दा धेरै इँटा प्रयोग भइसकेका छन्।”
उद्योगले सात जनालाई रोजगारी दिएको छ र मासिक रूपमा ७,००० इँटा उत्पादन हुन्छ। “नगरपालिकाले इँटाको प्रतिगोटा मूल्य ५२ रुपैयाँ निर्धारण गरिदिएको छ। सबै खर्च कटाएर औसतमा १७ प्रतिशत नाफा रहन्छ, जसबाट महिनामा झन्डै १ लाख रुपैयाँ बचत हुन्छ,” उहाँले थप्नुभयो।
ईको इँटा तयार गर्न ढुङ्गाको धुलो, धोएको खस्रो बालुवा, ५३ ग्रेडको ओपिसी सिमेन्ट, र सुपर प्लास्टिक साइजरजस्ता कच्चापदार्थ प्रयोग गरिन्छ। “यी सामग्री काठमाण्डौको दाउन्ने, झापाको बिर्तामोड र सुपर प्लास्टिक साइजर उडिसाबाट ल्याउने गरिन्छ,” प्रमोदले बताउनुभयो।
उद्योगको उत्पादन सूर्योदय नगरपालिकाभित्रको माग धान्न समेत पर्याप्त छैन। “नगरपालिकाले निर्माण सामग्रीमा हरित उत्पादनको प्रयोगलाई प्राथमिकता दिएको छ। सम्झौता भएमा उत्पादन अनिवार्य रूपमा बढाउनु पर्नेछ,” स्वस्तिका सापकोटा (भट्टराई)ले बताउनुभयो।
ईको इँटा भूकम्प प्रतिरोधी र वातावरणमैत्री भएकाले यसको माग दिनदिनै बढिरहेको छ।
प्रमोदले नेपालमै उद्यम गर्न रुचाएको बताउनुभयो। “६ वर्षअघि १५ लाख लगानी गरेर उद्योग खोल्नु ठूलो साहस थियो। विदेश गएका भए करोडौं कमाइ हुन्थ्यो होला। तर, परिवार, समाज र नेपाली माटोको सुगन्धले यहीँ बाँधिराख्यो। हामी यहीँ खुसी छौं,” उहाँले भन्नुभयो।
कोरोना महामारीका बेला व्यवसायमा आएको चुनौतीबारे उहाँले भन्नुभयो, “कोभिड–१९ का कारण उद्योग ठप्प हुँदा निराशा छायो। तर, परिस्थिती सुधार भएपछि हामीले फेरि उद्योगलाई गति दिन सफल भयौं।”
स्थानीय युवालाई स्वरोजगार बनाउन सूर्योदय नगरपालिकाले विशेष प्रोत्साहन गरिरहेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो। उहाँका अनुसार, सहुलियत र अनुदानका माध्यमबाट युवाहरूलाई उद्यमशीलतामा आकर्षित गरिएको छ।
उद्योगले ईको इँटा मात्र नभई कङ्क्रिट इँटा, कभर ब्लक, फूलका गमला, तुलसीको मोठ, र तारजाली पिल्लरसमेत उत्पादन गर्दै आएको छ।