Sunday, November 8, 2026
Homeसामाचारगभर्नर विश्वनाथ पौडेलसँग निजी बैंकको सेयर- स्वार्थ बाझिने खतरा

गभर्नर विश्वनाथ पौडेलसँग निजी बैंकको सेयर- स्वार्थ बाझिने खतरा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल एक निजी बैंक—सानिमा बैंक—को संस्थापक सेयरधनी रहेको तथ्य सार्वजनिक भएको छ। बुधबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार उनीसँग सानिमा बैंकमा २ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर रहेको देखिएको हो।

पौडेलको नाममा कूल १८ करोड ६५ लाख रुपैयाँ बराबरको चल-अचल सम्पत्ति छ, जसमा अन्य सम्पत्ति बाहेक सानिमा बैंकको संस्थापक सेयर पनि समावेश छ।

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाको सेयर किन्न प्रतिबन्ध लगाएको छ। राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावलीको दफा १३० को उपदफा (३), (४) र (५) अनुसार कर्मचारीले आफ्नो वा आफ्नो परिवारको नाममा कुनै बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाउने व्यवस्था छ। तर, सो विनियमावली गभर्नर, डेपुटी गभर्नर वा सञ्चालक समितिका सदस्यहरूमा भने लागू नहुने प्रावधान छ।

यद्यपि, नियामक निकायको प्रमुखले आफैँले नियमन गर्ने संस्थामा सेयर राख्नु नैतिक संकट र हितको द्वन्द्वको अवस्था सिर्जना गर्ने राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्। एक अधिकारीले भने, “गभर्नरले स्वयम् नेतृत्व गर्ने सञ्चालक समितिले नै विनियमावली बनाउँछ। यस्तो अवस्थामा उहाँले सानिमा बैंकको सेयर राख्दा त्यसबारे हुने निर्णयमा सहभागी हुन नमिल्ने हुन्छ, जुन स्वस्थ अभ्यास होइन।”

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले पनि गभर्नरसँग बैंकको सेयर हुनु उपयुक्त नहुने धारणा राख्दै छिटोभन्दा छिटो उक्त सेयर बेच्नु उपयुक्त हुने सुझाव दिएका छन्। “हितको द्वन्द्व हुन नदिन कर्मचारीले सेयर किन्न नपाउने व्यवस्था गरिएको हो। गभर्नरले पनि यो कुरा नैतिकताका आधारमा पालना गर्नुपर्छ,” उनले भने।

यसबारे गभर्नर पौडेलको प्रतिक्रिया भने आइसकेको छैन। उनी हाल स्विट्जरल्यान्डमा छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका