दोधारा चाँदनी (कञ्चनपुर) – नेपाल प्रहरीले भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा जाँच कडा पारेको छ। चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार प्रहरीले आजदेखि तालिम प्राप्त कुकुर परिचालन गरेर जाँच थालेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार चाडपर्वका बेला लागूऔषध र विष्फोटक पदार्थ भित्रिन सक्ने भएकाले विशेष निगरानी गरिएको हो। “‘शेरा’ र ‘लैला’ नामक दुई तालिम प्राप्त कुकुर परिचालन गरिएको छ। ‘शेरा’ले विष्फोटक पदार्थ र ‘लैला’ले लागूऔषध पत्ता लगाउने क्षमता राख्छन्,” उनले बताए।
दसैं मनाउन घर फर्किने यात्रुको भीड बढिरहेका बेला अन्य आपराधिक गतिविधि रोक्न सीमा नाकासँगै बसपार्क लगायतका क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ।
भारतबाट नेपाल फर्किने यात्रुको सहायताका लागि नाका र बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। प्रहरीद्वारा राजमार्गमा जाँच बढाइएको छ भने बजार क्षेत्रमा पनि थप प्रहरी परिचालन गरिएको छ। दसैं–तिहार लक्षित सुरक्षा योजनाअनुसार जिल्लाभर गस्ती समेत तीव्र पारिएको प्रहरीले जनाएको छ।


