Sunday, November 8, 2026
Homeसामाचारखेल क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्रको आधारशीला हो : अध्यक्ष दाहाल

खेल क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्रको आधारशीला हो : अध्यक्ष दाहाल

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रलाई सभ्य समाज र समृद्ध राष्ट्र निर्माणको आधारशिला भएको बताएका छन्।

कीर्तिपुरमा आयोजित अखिल नेपाल खेलकुद महासङ्घको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लोकतन्त्रको स्थापनापछि खेल क्षेत्रमा उल्लेखनीय सुधार भएको स्मरण गराए। साथै खेल क्षेत्रको संस्थागत विकासका लागि आफूले विशेष पहल गरेको दाबी पनि गरे।

उनका अनुसार आफ्नो पहिलो प्रधानमन्त्री कार्यकालमै गाउँदेखि केन्द्रसम्म खेलकुदलाई प्राथमिकतामा राख्दै हजारौँ खेलाडी उत्पादन गर्ने वातावरण तयार गरिएको थियो।

दाहालले अघिल्लो शासन व्यवस्थामा खेलकुदलाई निरङ्कुशता र पञ्चायती शासनको संरक्षणका लागि प्रयोग गरिएको भए पनि गणतन्त्रपछि यसलाई सभ्य समाज निर्माण, राष्ट्रिय एकता र अन्तरराष्ट्रिय भाइचाराको माध्यमका रूपमा उपयोग गरिएको स्पष्ट पारे।

उनले नेपाली खेलाडीहरूले अन्तरराष्ट्रिय स्तरमा पदक जितेर नेपालको इज्जत र प्रतिष्ठा विश्वसामु उजागर गरेको उदाहरण प्रस्तुत गर्दै, राज्यले खेल क्षेत्रमा अझ बढी प्राथमिकता दिएमा गुणात्मक प्रगति सम्भव हुने विश्वास व्यक्त गरे।

सम्मेलनको सफलताको शुभकामना दिँदै अध्यक्ष दाहालले अखिल नेपाल खेलकुद महासङ्घ र माओवादी केन्द्र दुवै संस्थाले खेल क्षेत्र सुदृढ बनाउन अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। साथै माओवादी नेतृत्वमै खेल क्षेत्रमा सुधार सम्भव भएको दाबी पनि गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका