वीरगञ्ज (पर्सा), १६ साउन । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरपालिकाका अगुवाहरूले अमलेखगञ्जको भावर क्षेत्रमा स्थलगत निरीक्षण गर्दै पानीको स्रोत संरक्षण र उपयोगको सम्भाव्यता अध्ययन गरेका छन्।
वीरगञ्ज आसपासका क्षेत्रमा बढ्दो खानेपानी संकटसँगै समाधानको उपाय खोज्दै समितिका अध्यक्ष डा. किरण पौडेल र वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहसहितको प्राविधिक टोलीले बाराको अमलेखगञ्जस्थित कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको भावर क्षेत्रमा गरेको अभ्यासको अवलोकन गरेको हो।
महानगर प्रमुख सिंहले वीरगञ्जमा पानीको सतह घट्दै गएकाले अमलेखगञ्जमा भावर क्षेत्रमा गरिएको पानी संरक्षण र पुनःभरण प्रविधि अध्ययन गर्न आफूहरू त्यहाँ पुगेको बताए। “अमलेखगञ्जको जस्तै प्रविधि वीरगञ्जमा पनि लागू गर्न सकिन्छ कि भनेर स्थलगत अध्ययनमा आएका हौँ,” उनले भने, “अब दुई स्थानको प्राविधिक पक्षको तुलनात्मक अध्ययनपछि मात्रै ठोस निष्कर्ष निकाल्न सकिनेछ।”
उनले वीरगञ्जका चापाकलहरू सुक्दै गएकाले सतहको पानी पुनःभरण गर्न पोखरीलगायत संरचना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। “खेर गइरहेको पानीलाई उपयोग गर्न सके भूमिगत जलस्रोतको संरक्षणमा मद्दत पुग्छ,” उनले भने, “प्राविधिक तथा वातावरणविद्को सल्लाहअनुसार योजना अघि बढाउने तयारी छ।”
अमलेखगञ्जका उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने मगरका अनुसार, भावर क्षेत्रमा तीन मिटर गहिराइमा पानीको स्रोत संरक्षण गरेर दैनिक २४ लाख लिटर पानी आठ सयभन्दा बढी घरधुरीमा वितरण भइरहेको छ। “पहिले यहाँ पनि पानीको हाहाकार थियो,” उनले स्मरण गरे, “तर अहिले हामीले पानीको स्रोत संरक्षण गरेर वर्षभर खानेपानी उपलब्ध गराइरहेका छौँ।”
समितिको कार्यान्वयन इकाइ कार्यालय चितवनका इञ्जिनियर अनिल सिन्हाले भावर क्षेत्रको पानीको स्रोत संरक्षण गरेर भू–जलको सतह वृद्धि गर्न सकिने बताए। उनले पर्साको भेडाहा खोलाको भावर क्षेत्रमा पनि यस्तो अभ्यास गर्न सकिने सम्भावना देखिएको बताए। “विभिन्न संरचना जस्तै पोखरी निर्माण गरेर सतहको पानी संरक्षण गर्न सकिन्छ,” उनले भने।
टोलीले वीरगञ्ज महानगर–३१ स्थित वेल्बास र भेडाहा खोलाको भावर क्षेत्रमा समेत स्थलगत निरीक्षण गरेको थियो। समितिका अध्यक्ष डा. पौडेलले वीरगञ्ज आसपासमा पानीको भूसतह वृद्धि गर्न पोखरीलगायत संरचनाको निर्माण जरुरी भएको बताए।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्जको खानेपानी संकट समाधानका लागि वैकल्पिक स्रोतको खोजी अन्तर्गत दुई स्थानमा स्थलगत अवलोकन गरिएको जानकारी दिए।


