खाँदबारी (सङ्खुवासभा), ५ मङ्सिर — कोशी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिमयुक्त रहेको अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले सार्वजनिक गरेको छ। ‘नेपालका हिमनदी तथा हिमतालमा भइरहेको तीव्र परिवर्तनले उत्पन्न जोखिम’ विषयक अन्तरक्रियामा इसिमोडका विज्ञ शरदप्रसाद जोशीले सन् २०२० को प्रतिवेदनका आधारमा यो तथ्य प्रस्तुत गरे।
जोशीका अनुसार नेपालभर रहेका २ हजार ६९ हिमतालमध्ये कोशी प्रदेशमा मात्र ४२ वटा अत्यन्तै संवेदनशील अवस्थाका छन्। हिमताल फुटे ठूलो जनधन र भौतिक संरचनामा विनाशकारी प्रभाव पर्न सक्ने भन्दै उनले उच्च सतर्कता र समयमै पूर्वतयारी आवश्यक रहेको बताए।
सङ्खुवासभामा मात्रै भोटखोला र मकालु क्षेत्रमा चार हिमताल उच्च जोखिम समूहमा परेका छन्। तीमध्ये तल्लो वरूणमा रहेको ‘ठूलोपोखरी’ सबैभन्दा जोखिमयुक्त मानिएको छ। करिब तीन किलोमिटर लम्बाइ र करिब २०६ मिटर गहिराइ भएको अनुमान गरिने यो हिमताल वरिपरिका क्षेत्रमा समेत १५ देखि २५ मिटर गहिराइ छ, जसले जोखिम थप बढाएको छ।
जोशीका अनुसार जल तथा मौसम विज्ञान विभाग र युएनडिपी नेपालको सहकार्यमा जोखिम न्यूनीकरण योजना चार हिमतालमा कार्यान्वयन भइरहेका छन्, जसमा तल्लो वरूणको ठूलोपोखरी पनि समावेश छ।
हिमताल फुट्ने अवस्था आएमा अरुण उपत्यकाका धेरै बस्ती तथा भौतिक संरचना प्रत्यक्ष जोखिममा पर्ने उनले स्पष्ट पारे। तिब्बतबाट बगेर आउने १३ हिमताल पनि उत्तरी भेगका लागि सम्भावित खतरा भएको उल्लेख गरियो।
कार्यक्रममा इसिमोडकी नीरा श्रेष्ठ प्रधानले विपद्मा महिला, बालबालिका तथा असक्त समुदाय सबैभन्दा बढी प्रभावित हुने भएकाले लक्षित चेतना अभिवृद्धि र क्षमता विकास कार्यक्रम सञ्चालन भइरहेको बताइन। जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्यले जोखिमयुक्त हिमतालको दीगो व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम आवश्यक रहेको बताए।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियालगायत सरोकारवालाको सहभागितामा आयोजित कार्यक्रममा हिमताल व्यवस्थापन, जोखिम न्यूनीकरण तथा स्थानीय तयारीबारे विस्तृत छलफल गरिएको थियो।


