Homeकोरोना बिशेषकोरोना संक्रमितले काठमाडौंका अस्पताल भरिए, आईसीयू र भेन्टिलेटर पाउनै सकस

कोरोना संक्रमितले काठमाडौंका अस्पताल भरिए, आईसीयू र भेन्टिलेटर पाउनै सकस

बसुन्धारा काठमाडौंका राजेन्द्र स्थापितलाई कोरोना संक्रमण भएको ५ दिन भयो । केही समय होम आइसोलेसनमै बसेका स्थापितलाई स्वास्थ्यमा थप समस्या आउन थालेपछि आइतबार उपत्यकाका अधिकांश अस्पतालहरुमा भर्नाका लागि पहल भयो । तर, अधिकांश अस्पतालमा सामान्य बेडसमेत खाली नरहेको भन्दै फिर्ता पठाइयो ।

आइतबार दिनभर ग्राण्डी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल आर्मी अस्पताल तथा अन्य विभिन्न निजी अस्पतालमा बेडका लागि कुर्दासमेत बेड उनका लागि कहीँ कतै पाइएन ।

अहिले नै आइसियु वा भेन्टिलेटरमै राख्नुपर्ने अवस्था नआएको भए पनि पूर्वतयारीका लागि अस्पताल जान लागेका स्थापितका आफन्तको प्रयास आइतबार निरर्थक रह्यो । सोमबार बल्ल प्रहरी अस्पतालमा एउटा बेड खाली भयो र उनी भर्ना भए ।

स्थापितको मात्रै होइन, उपत्यकाका अस्पतालमा भर्ना हुनका लागि बेड खोज्ने सबैको समस्या हो यो । कोरोना लागेको बिरामी होस् वा अन्य बिरामी, अहिले काठमाडौं उपत्यकाका अस्पतालमा बेड पाउन धौ धौ छ । जुनसुकै अस्पतालमा फोन गरे पनि बेड खाली छैन भन्ने जवाफ आउँछ ।

अझ कुनै बिरामी गम्भीर अवस्थामा पुग्यो र उसलाई आइसियु वा भेन्टिलेटरको आवश्यकता पर्ने अवस्था आयो भने त्यो पाउन मुस्किलमात्रै होइन, असम्भवजस्तै छ । किनभने, कोरोनाका बिरामी बढ्दै जाँदा उपत्यकाका सरकारी तथा निजी अस्पतालहरुमा रहेका आइसियु र भेन्टिलेटर खाली छैनन् ।

सरकारी वा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ काठमाडौंमा अस्पतालहरुमा जम्मा ८५ वटा आइसियु र ५८ वटा भेन्टिलेटरसहितको बेड कोभिड बिरामीका लागि छुट्याइएको छ । उपत्यकाका अस्पतालमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड बिरामीका लागि २८ वटा जनरल बेड, २३ वटा आइसियु बेड र १७ वटा भेन्टिलेटर सहितको बेड छुट्याएको छ ।

त्यसैगरी नेपाल एपिएफ अस्पतालमा १ सय ४० वटा जनरल बेड, २० वटा आइसियु र ८ वटा भेन्टिलेटर सहितको बेड छुट्याइएको छ ।

त्यस्तै पाटन अस्पतालमा १ सय ८० वटा जनरल बेड, २१ वटा आइसियु र १७ वटा भेन्टिलेटर सहितको बेड कोभिड बिरामीका लागि छुट्याइएको छ ।

वीर अस्पतालमा ७६ वटा जनरल बेड, १० वटा आइसियु र ५ वटा भेन्टिलेटर भएको बेड कोभिड बिरामीका लागि छुट्याएको छ भने त्रिवि शिक्षण अस्पतालमा ६० वटा जनरल बेड, ११ वटा आइसियु र ११ वटा भेन्टिलेटर सहितको बेड कोभिड बिरामीका लागि छुट्याएको छ ।

तर, यी सरकारी स्वामित्व रहेका अस्पतालहरुमा पनि जनरल बेड कहीँ कहीँ पाए पनि आइसियु र भेन्टिलेटरसहितको बेड पाउने सम्भावना नै छैन । पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यका अनुसार अस्पतालले छुट्याएको आइसियु र भेन्टिलेटरसहितका सबै बेड अकुपाइड भइरहेका छन् । सबै बेडमा बिरामी भएकाले नयाँ बिरामी भर्ना गर्नसक्ने अवस्था छैन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीका अनुसार अस्पतालमा उपलब्ध सबै आइसियु र भेन्टिलेटर सहितका बेडहरु पहिले नै प्रयोगमा आइसकेका छन् । यहाँ पनि नयाँ बिरामीलाई भर्ना गराएर उपचार गराउन सक्ने अवस्था छैन ।

सरकारी मात्रै होइन, पूरा पैसा तिरेरै निजी अस्पतालमा उपचार गराउँछु भन्दा पनि उपचार गराउन पाउने अवस्था छैन । किनभने, निजी अस्पतालले छुट्याएका अधिकांश बेड र आइसियु तथा भेन्टिलेटरहरु अकुपाइड भइसकेका छन् ।

ग्राण्डी अस्पतालका जिएम विकाशमान सिंहका अनुसार अस्पतालले कोभिड बिरामीका लागि भनेर २३ वटा आइसियु बेड छुट्याएको थियो । जसमध्ये १५ वटामा भेन्टिलेटरसहितको सुविधा थियो भने ८ वटामा हाइफ्लो न्याजल क्यानुला उपलब्ध थियो । ग्रान्डी अस्पतालको यी सबै बेडहरु यतिबेला कोभिड बिरामीले अकुपाइड गरिरहेका छन् ।

बानेश्वरस्थित एभरेष्ट अस्पतालको अवस्था पनि त्यस्तै छ । कोभिड बिरामीका लागि आइतबारबाट ११ बेड छुट्याएकामा ६ बेडमा बिरामी भर्ना भइसकेका छन् । बाँकी ५ वटा जनरल बेड खाली रहेको भएपनि आइसियु र भेन्टिलेटर दिन सक्ने अवस्था छैन । अस्पतालमा रहेको ५ वटा भेण्टिलेरमध्ये ३ वटा भेन्टिलेटरमा पहिले नै बिरामी छन् । कोभिडका लागि पहिले ती बिरामीलाई डिस्चार्ज गरिसकेपछि मात्रै भर्ना गर्न सकिने भएकाले कोभिड बिरामीका लागि त्यहाँ पनि बेड र आइसियु खाली छैन ।

बल्खुस्थित वयोधा अस्पतालले सुरुमा ८ वटा आइसियु बेड कोभिड बिरामीका लागि छुट्याएको थियो । तर ती बेडहरु दुई दिनमै अकुपाइड भएपछि थप ५ वटा आइसियु कोभिड बिरामीका लागि छुट्याएको थियो । तीमध्ये अहिले १२ वटा बेड अकुपाइड छन् भने बाँकी रहेको एउटा बेडमा इमरजेन्सीमा रहेका दुईजना कोभिड बिरामीमध्ये एकजनालाई राख्नुपर्ने भएकाले वयोधा अस्पतालमा पनि कोभिड बिरामीका लागि कुनै आइसियु खाली नभएको अस्पतालका मेडिकल सर्भिसेज हेर्ने जिएम डाक्टर रोहन झाले बताए । वयोधा अस्पतालमा ३ वटा भेन्टिलेटर र ७ वटा हाइ फ्लो न्याजल क्यानुला राखिएको डाक्टर झाले बताए ।

भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालले कोभिड बिरामीका लागि भनेर ७० वटा जनरल बेड र २१ वटा आइसियु छुट्याएको थियो । जसमध्ये अहिले सबै बेड अकुपाइड भइसकेको छ । अस्पतालले लिनसक्ने अवस्था छैन ।

अस्पतालले अधिकतम १० वटासम्म भेन्टिलेटर उपलब्ध गराउन सक्ने भएपनि ५ वटा भेन्टिलेटर अकुपाइड छ । बाँकी भेन्टिलेटर पनि बिरामीका लागि प्रयोगमा ल्याउनुपर्ने अवस्था छ । मेडिसिटी अस्पतालकी सञ्चार प्रमुख मनिता पोखरेलका अनुसार अहिले अस्पतालको बाहिर इमरजेन्सीमा कोभिडका बिरामी बेड पर्खेर बसेका छन् । तर उनीहरुलाई बेड उपलब्ध गराउन सक्ने अवस्था छैन ।

ग्वार्कोस्थित बिएण्डबी अस्पतालले कोभिड बिरामीका लागि भनेर २० वटा बेड छुट्याएको थियो । जसमध्ये १७ वटा बेडमा बिरामी भर्ना भइसकेका छन् । २० बेडमध्ये ४ वटा आइसियु र २ वटामा भेन्टिलेटरको व्यवस्था गरिएको छ । बिएण्डबीमा भने हालसम्म आइसियुमा राख्नुपर्ने बिरामी नभएको अस्पतालका प्रशासक प्रमुख प्रकाश भट्टराईले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १८ हजार ९१७ वटा जनरल बेड, १ हजार ४८६ आइसियु र ६ सय ३४ वटा भेन्टिलेटर सहितको आइसियु उपलब्ध छन् । तर, यीमध्ये अधिकांश प्रदेश र उपत्यकाका अस्पतालहरु कोभिडका बिरामीले भरिएका छन् । नयाँ बिरामीका लागि आइसियु र भेन्टिलेटर उपलब्ध गराउन सक्ने अवस्था नै छैन ।

सरकारले दैनिक १० देखि ११ हजार सम्म कोभिडबाट संक्रमित हुन सक्ने प्रक्षेपण यस अघि नै गरिसकेको छ । अनि एकजना संक्रमितलाई आइसियुमा राखेर उपचार गर्नुपर्दा औसतमा १० दिन उपचार गर्नुपर्ने हुन्छ । यसको अर्थ प्रत्येक १० दिनमा आइसियुमा राखेर उपचार गर्नुपर्ने बिरामीको सङ्ख्या १० गुणाले बढ्न थाल्नेछ ।

अहिले कोभिड लागेका करिब २ प्रतिशत व्यक्तिलाई आइसियुमै राखेर उपचार गर्नुपर्ने देखिएको छ । यदि सरकारले प्रक्षेपण गरेको जस्तै दैनिक १० हजार व्यक्ति संक्रमित भएको अवस्थामा प्रतिदिन २ सय जनालाई आइसियु सहितको बेड उपलब्ध गराउनुपर्ने हुन्छ । र, एकजना बिरामीलाई १० दिन आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको अवस्थामा पहिले नै कम्तिमा २ हजार र त्यसपछि प्रतिदिन २ सयका दरले कोभिड बिरामीका लागि आइसियु र भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने हुन्छ ।

तर सरकारसँग पर्याप्तमात्रामा आइसियु र भेन्टिलेटरको व्यवस्था छैन । निजी अस्पतालहरुमा पनि पर्याप्तमात्रामा आइसियु र भेन्टिलेटर को व्यवस्था छैन भने नयाँ पूर्वाधारका लागि पनि केही गरिएको छैन । कोभिडका कारण अक्सिजनको मात्रा कम भई अक्सिजन चढाउनु पर्ने अवस्थामा पनि शैया नपाएर सडकमै अक्सिजन चढाउने वा अन्तिम समय कुरेर बस्ने स्थिति आउन सक्ने खतरा बढेको छ । कोरोनाको दोस्रो लहर फैलँदा सुरुवातमै अस्पतालमा बेड नपाइने अवस्था आएको छ । यदि दैनिक १० हजारको हाराहारीले संक्रिमको सङ्ख्या थपिएको अवस्थामा स्वास्थ्य उपचार नपाएरै मानिसले ज्यान फाल्नुपर्ने स्थिति आउन सक्नेछ ।

रातोपाती बाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका