काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले औपचारिक निमन्त्रणा पठाएका छन्।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा प्राप्त भएको जानकारी गराएका हुन्।
सहसचिव ढकालका अनुसार परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा पत्र आवश्यक प्रक्रियाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको छ। यद्यपि, सम्मेलनमा नेपालको तर्फबाट कुन तहको सहभागिता रहने भन्ने विषय भने हालसम्म टुंगो लागिसकेको छैन। त्यसबारे निर्णयको प्रतीक्षामा मन्त्रालय रहेको उनले बताए।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–३१ आगामी २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्किएको अन्ताल्यामा आयोजना हुँदैछ।


