Saturday, April 19, 2025
Homeसामाचारकोठामा थुनिएका ९ वर्षीय बालकसहित चार बालबालिकाको उद्धार

कोठामा थुनिएका ९ वर्षीय बालकसहित चार बालबालिकाको उद्धार

खोटाङ: माया घर नेपाल नामक संस्थाले कोठामा थुनिएर बस्न बाध्य ९ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरेको छ। एँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका ९ वर्षीय अङ्गबहादुर थापा, ९ वर्षीया सुजता राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ११ वर्षीय विश्वहाङ राई र १२ वर्षीय रुविन राईलाई आज उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङ र सम्बन्धित वडा कार्यालयको समन्वयमा ती बालबालिकाको पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचार गर्नेगरी उद्धार गरिएको माया घर नेपाल इटहरीका जिल्ला प्रतिनिधि प्रमेश ढकालले जानकारी दिनुभयो। “उद्धार गरिएका चारैजनालाई एम्बुलेन्समार्फत इटहरी पठाइएको छ,” उहाँले भन्नुभयो, “जिल्लाका सहाराविहीन बालबालिकाको उद्धार गर्ने अभियानमा सक्रिय भएका छौँ।”

उद्धार गरिएका बालक अङ्गबहादुरलाई आफ्नै घरको कोठामा थुनेर राखिएको थियो। उहाँलाई बोल्न र हिँड्न समेत नसक्ने अवस्थामा उद्धार गरिएको जनाइएको छ। कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकी बुबाआमाले कोठामा थुनेर राखेको उद्धार टोलीले जनाएको छ।

त्यसैगरी, राखाबाङ्देलकी सुजता राईका बुबा नभएको र आमाले अर्कै विवाह गरेपछि पालनपोषण र शिक्षाको जिम्मेवारी माया घर नेपाललाई दिइएको वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले जानकारी दिनुभयो।

बुइपाका विश्वहाङ राईका बुबा पाँच वर्षदेखि बेपत्ता छन् भने आमाले पनि पुनः विवाह गरेकी छिन्। बुबाआमा दुवैको सहारा नपाएका विश्वहाङलाई छिमेकीको घरमा बसिरहेको अवस्थामा उद्धार गरिएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो।

रुविन राईका बुबा अपाङ्ग र आमा असक्त भएकाले पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचारमा समस्या रहेको कारण उहाँलाई पनि उद्धार गरिएको हो।

उद्धार गरिएका चारै बालबालिकालाई ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको एम्बुलेन्समार्फत आजै इटहरी पठाइएको छ। यसअघि पनि जिल्लाबाट चार जना सडक आश्रित मानव र दुई सहाराविहीन बालबालिकाको उद्धार गरी मानव सेवा आश्रम विराटनगर पठाइएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका