Monday, January 20, 2025
Homeमुख्य समाचारकोटेश्‍वरमा प्रचण्ड र माधवबीच वार्ता, ओलीको 'फन्डा'मा नफस्‍ने रणनीतिबारे छलफल

कोटेश्‍वरमा प्रचण्ड र माधवबीच वार्ता, ओलीको ‘फन्डा’मा नफस्‍ने रणनीतिबारे छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधव नेपालबीच वार्ता भएको छ। कोटेश्‍वरस्थित एक व्यवसायीको घरमा दुई नेतबीच वार्ता भएको हो।

एमाले अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीले माधव पक्षको माग बमोजिम २०७५ जेठ ३ मा फर्किन तयार रहेको प्रतिवद्धतासहित एकताको अपिल गरेपछि भएको यो छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ।

स्रोतका अनुसार आफू अल्पमत परेर कमजोर भएपछि ओलीले फेरि फसाउनका लागि यस्तो फन्डा रचेको निश्कर्ष निकाल्दै ओलीको जालझेलमा अब नअलमलिने माधवले बताएका छन्।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पार्टी एकताको आह्वान गरेका छन्। जसका लागि प्रधानमन्त्री ओलीले ६ बुँदे प्रस्ताव अघि सारेका छन्।  नेताहरूबाट भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कारबाही नगरिने प्रतिबद्धता ओलीले जनाएका छन्।

यता वरिष्ठ नेताद्वय माधवकुमार नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको थियो। उक्त समूहको मागअनुसार ओलीले प्रस्ताव गरेका हुन्। एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा एकीकरण भई नेकपा गठन भएको थियो। तर, सर्वोच्च अदालतले गत फागुन २३ गते उक्त एकीकरण बदर गर्दै साविक पार्टी ब्युँउताउने फैसला सुनाएको थियो।

नेकपा (एमाले) माधवकुमार नेपाल पक्षले पार्टी एकताको नाममा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन फिर्ता नलिने भएको छ। २०७५ जेठ २ मा फर्किन पार्टी अध्यक्ष केपी शर्मा ओली तयार भए पनि माधव पक्ष रिट फिर्ता नलिने निष्कर्षमा पुगेको हो।

माधव पक्षका २३ जना सांसदले प्रतिनिधिसभा पुनस्र्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। उता संस्थापन पक्षको भने नवौं महाधिवेशनको संरचनामा फर्किएर पार्टी एकता जोगाउन रिट फिर्ता लिनुपर्ने अडान छ।

अध्यक्ष रहेका प्रधानमन्‍त्री ओलीलाई विश्‍वास मत दिने क्रममा गत वैशाख २७ गते माधव नेपालसहित २७ जना सांसदहरू अनुपस्थित भएपछि एमालेभित्रको आन्तरिक विवादले विस्फोटक मोड लिएको थियो। बुढानीलकण्ठमा वैशाख ३० गते ओली र नेपालबीच भएको साढे चारघन्टा लामो वार्तामा मिलेर अघि बढ्ने सहमति सहित कार्यदल बने पनि राष्ट्रियसभामा सरकार पक्षीय उम्मेदवार रामबहादुर थापा बादल पराजित भएपछि एकता प्रयास फेरि भाँडिएको थियो।

एमाले संस्थापन पक्षले  वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिपछि पार्टी विभाजनको अवस्थामा पुगेको हो। त्यसैगरी एमाले संस्थापन पक्षले घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडासँग कारबाहीका लागि स्पष्टीकरण सोधिसकेको छ। अन्नपूर्णबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका