काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ।
भदौ २३ र २४ गते भएका आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीलाई अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाएको थियो। तर घटनासम्बन्धी सोधपुछ तथा आवश्यक बुझाइको कार्य सम्पन्न भइसकेकाले उक्त निर्णय अब औचित्यहीन भएको आयोगले जनाएको छ।
आयोगका अनुसार ओलीले आइतबार बयान दिइसकेपछि अनुसन्धान प्रक्रियामा आवश्यक सबै काम पूरा भएको ठहर गरिएको हो। त्यससँगै अब उनी उपत्यका बाहिर जान तथा विदेश भ्रमण गर्न स्वतन्त्र भएका छन्।



