लन्डन । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले बेलायतवासी नेपालीहरूलाई ‘उज्यालो नेपाल अभियान’मा साथ दिन आह्वान गरेका छन्।
लन्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औँ नेपाली मेलालाई सम्बोधन गर्दै उनले बत्तीको मात्र नभई देशको समग्र क्षेत्रमा उज्यालो ल्याउने उद्देश्यसहित अभियान सुरु गरिएको जानकारी दिए। उनले यस अभियानलाई सफल बनाउन सबै नेपालीको साथ र सहयोग आवश्यक रहेको बताए।
विदेश भ्रमणका क्रममा बेलायत पुगेका घिसिङले २०७२ सालको संविधानमा समावेश गरिएको एनआरएन नागरिकताको प्रावधान अझै कार्यान्वयनमा नआएकोप्रति ध्यानाकर्षण गराउँदै, ढिलाइ नगरी तत्काल लागू गर्न आग्रह गरे। ‘अब यो विषय छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउनुपर्छ,’ उनले भने।
उनले सगरमाथा, भगवान् गौतम बुद्ध र गोर्खा सैनिकहरूले नेपाललाई विश्वमा चिनाएको उल्लेख गर्दै गोर्खा सैनिकहरूको माग यथाशीघ्र पूरा गर्नुपर्नेमा जोड दिए। साथै, ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल भावनाअनुरूप वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्न आफू पूर्ण समर्थनमा रहेको स्पष्ट पारे।
भर्खरैको अध्ययनलाई उद्धृत गर्दै उनले नेपालीहरूले पठाएको प्रत्येक डलरले नेपालको अर्थतन्त्रमा दुई डलरभन्दा बढी योगदान पुर्याइरहेको बताए। संसारभरि रहेका प्रवासी नेपालीहरू नेपालका लागि ठूलो सम्पत्ति भएको उल्लेख गर्दै उनले लगानीमैत्री वातावरण बनाउनुपर्ने र आवश्यक परे देशको रूपान्तरणका लागि स्वदेश फर्किन पनि तयार रहन आग्रह गरे।


