भक्तपुर:नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कुनै पनि हालतमा राजतन्त्र फर्कने सम्भावना नरहेको स्पष्ट गर्नुभएको छ।
वासु मावि कालीघाट व्यासी, भक्तपुरद्वारा आयोजित ६३औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले देशमा राजतन्त्र पुनःस्थापना हुन नसक्ने बताउनुभयो।
अध्यक्ष बिजुक्छेंले भन्नुभयो, “प्रजातन्त्र प्राप्तिपछि राजनीतिक दलहरूले जनताको मन जित्ने गरी काम गर्न नसक्दा निराशा छाएको छ। तर, त्यसको अर्थ अब राजा चाहिन्छ भन्ने होइन। जसरी सानो छँदाको कपडा ठूलो भएपछि काम लाग्दैन, त्यसरी नै गइसकेको राजतन्त्र कुनै हालतमा फर्कदैन, न त फर्किन दिनुपर्छ।”
उहाँका अनुसार, प्रजातन्त्र पुनःस्थापनापछि बनेका सरकारहरूले अपेक्षित काम गर्न नसक्दा असन्तोष बढेको छ। तर, राजतन्त्र गरिब वर्गको नभई सामन्त वर्गको हित गर्ने संस्थाका रूपमा रहेको उहाँको धारणा छ।
अध्यक्ष बिजुक्छेंले राजनीतिक दलका नेताहरू आफ्नै कमजोरीका कारण जनता राजाका पक्षमा फर्किन्छन् कि भन्ने त्रासमा रहेको पनि बताउनुभयो।


