Friday, June 19, 2026
Homeसामाचारकार्यालय खुल्ने समयमा सार्वजनिक बिदाको जानकारी: समयमै निर्णय गर्न कसरी चुक्यो सरकार...

कार्यालय खुल्ने समयमा सार्वजनिक बिदाको जानकारी: समयमै निर्णय गर्न कसरी चुक्यो सरकार ?

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार दिउँसो काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारकै क्रममा ८३ वर्षको उमेरमा निधन भयो। कलेजोसँग सम्बन्धित समस्याका कारण अस्पतालमा उपचाररत रहेका ढुंगानाले, मृत्यु स्वाभाविक रहेको स्वीकार्दै संसारबाट बिदा लिए।

वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना २०४८ देखि २०५१ सालसम्म सभामुखको भूमिका निर्वाह गरेका थिए।

उनको निधनपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आइतबार नै राष्ट्रिय शोकस्वरूप एक दिनको सार्वजनिक बिदा दिन आग्रह गरेका थिए। तर, सरकारको नेतृत्व उनकै पार्टीले गरिरहेका बेला समेत यस प्रस्तावलाई तत्काल गम्भीरतापूर्वक लिइएन। अन्ततः सोमबार बिहान सरकारी कार्यालय खुल्ने समयमा मात्र सार्वजनिक बिदाको सूचना जारी गरियो।

सार्वजनिक बिदाको सूचना ढिलो गरि साढे ९ बजेपछि मात्र बाहिरिएपछि लामो दूरीबाट कार्यालय जाँदै गरेका कर्मचारीहरू समस्यामा परे। कतिपयले त कार्यालय पुगिसकेपछि मात्र बिदा भएको थाहा पाए। ढिलो निर्णयका कारण धेरैले अनावश्यक असुविधा भोग्नुपर्‍यो।

केपी शर्मा ओली नेतृत्वको सरकारले आज दिएको सार्वजनिक बिदा ‘जब पर्‍यो राति तब बुढी ताती’ भन्ने नेपाली उखानसँग मिल्दो भएको भन्दै धेरैले त खिसिटिउरीसमेत गरे। प्रधानमन्त्री ओलीले आइतबार दिउँसो ३ बजे सामाजिक सञ्जालमार्फत् ढुंगानाको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवंगत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना,’ उनले लेखेका थिए। तर, सोमबार बिहानको नियमित मन्त्रिपरिषद् बैठकबाट मात्र ओली सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्‍यो।

बैठकले ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने, स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाए। तर, त्यो कार्यालय खुल्ने समयमा गरिएको अनौठो निर्णय थियो। गृह मन्त्रालयले सरकारको निर्णय औपचारिक रुपमा सार्वजनिक गर्दासम्म कार्यालय सुरू भइसक्ने समय साढे १० भइसकेको थियो।

ढिला गरी गरिएको निर्णयले अनावश्यक रुपमा कैयौंको तेल खर्च भयो, समय खर्च भयो, सडक जाम भयो, विद्यार्थी, शिक्षक, कर्मचारी सबै अन्यौलमा परे। र, सबैले सरकारले ढिला गरि गरेको निर्णयको विरोध गरे।

धेरैले सामाजिक सञ्जालमा सरकारले ढुंगानाको योगदानको सम्मान नभइ हचुवा तालमा दिइएको बिदाले अपमान भएको टिप्पणी गरेका छन्। उनीहरूले समयमै सार्वजनिक बिदा दिन किन चुक्यो सरकार भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न गरिरहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका