Wednesday, June 24, 2026
Homeमनोरन्जनकान्स फिल्म फेस्टिभलमा सहभागी हुन सुनिता डंगोल फ्रान्स प्रस्थान

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन सुनिता डंगोल फ्रान्स प्रस्थान

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा सहभागी हुन आइतबार फ्रान्स प्रस्थान गरेकी छन्। कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन गएको महानगरपालिकाले जनाएको छ। विभिन्न सत्र र कार्यक्रममा सहभागिता जनाएर उनी जेठ ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

काठमाडौँ र कान्स दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’ अन्तर्गत चलचित्र विधाका सदस्य सहर हुन्। कान्सका मेयरले पठाएको निमन्त्रणापत्रमा फेस्टिभलले विश्वका रचनात्मक सहरहरूलाई एउटै मञ्चमा ल्याउने उल्लेख गरिएको छ। साथै ‘अन–एयर’ शीर्षकअन्तर्गत सञ्चालन हुने अडियो–भिजुअल सामग्री शृङ्खलाबारे जानकारी आदानप्रदान गर्ने अवसरसमेत रहने बताइएको छ।

यस वर्ष नेपालबाट निर्देशक अविनाश विक्रम शाहको चलचित्र ‘इलिफेन्ट इन द फग’ फेस्टिभलमा प्रदर्शन हुँदैछ।

वि.सं. २०८० कार्तिक १४ गते काठमाडौँ महानगरपालिका युनेस्कोको चलचित्र सहर सञ्जालअन्तर्गत सदस्य नगरका रूपमा चयन भएको थियो। त्यस वर्ष विश्वभरका ५५ नयाँ सहरलाई विभिन्न विधाका रचनात्मक सहरको सूचीमा समावेश गरिएको थियो, जसमा काठमाडौँसहित २६ सहर चलचित्र विधाबाट सदस्य बनेका थिए।

हाल रचनात्मक सहरको विश्व सञ्जालमा १०० भन्दा बढी देशका ४०० भन्दा बढी सहर आबद्ध छन्। यस सञ्जालमा चलचित्र, संगीत, डिजाइन, साहित्य, शिल्प तथा लोककला, खानाका परिकार र मिडिया कलालगायतका रचनात्मक क्षेत्र समेटिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका