काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ९३९ जना चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंगलबार बिहानसम्म विभिन्न स्थानमा गरिएको सवारी जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरेर सवारी चलाउने ४१ जना, सिसिटिभी निगरानीमार्फत ४३ जना तथा रातो बत्ती उल्लंघन गर्ने ५३ जना चालकलाई कारबाही गरिएको छ।
त्यसैगरी तीव्र गतिमा सवारी चलाउने ८७ जना, हर्न निषेध क्षेत्र उल्लंघन गर्ने १८ जना, लेन मिच्ने ३४ जना, अवस्था ठीक नभएको सवारी चलाउने २८ जना तथा एकतर्फी सडकमा सवारी चलाउने २८ जना चालक पनि कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीका अनुसार अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ६०७ जना चालकलाई समेत कारबाही गरिएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षा कायम गर्न नियमित सवारी जाँच र नियम उल्लंघन गर्ने चालकमाथिको निगरानीलाई निरन्तरता दिइने जनाएको छ।


