काठमाडौँ: आज शनिबार काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो बिहान महसुस गरिएको छ। मौसमविद सञ्जिव अधिकारीका अनुसार, आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस थियो। पछिल्लो केही दिनदेखि तापक्रम निरन्तर ओरालो लागिरहेको छ।
देशका अन्य भागहरूमा पनि चिसो क्रमशः बढ्दै गएको छ। जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ डिग्रीभन्दा कम मापन भइरहेको छ। जोमसोममा न्यूनतम तापक्रम माइनस २ देखि माइनस ३ डिग्रीसम्म झरेको छ भने जिरीमा पनि तापक्रम शून्यभन्दा तल झर्ने क्रममा छ।
पोस्ट-मनसुनबाट जाडो मौसमतर्फ संक्रमण भइरहेकोले अहिले मौसमी प्रणाली त्यति सक्रिय छैन। मौसमविद अधिकारीका अनुसार, आकाश खुलेको हुँदा दिउँसो तापक्रम केही बढे पनि बिहान न्यूनतम तापक्रम झर्ने गरेको छ।
“खुला आकाशका कारण दिउँसोको तापक्रम सामान्य रहने भए पनि न्यूनतम तापक्रम बिहान निकै घटेको छ,” अधिकारीले बताए।
आज काठमाडौंको अधिकतम तापक्रम १८ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। अघिल्लो वर्षको जस्तै यस वर्ष पनि तापक्रम र मौसमी अवस्था लगभग समान रहेको महाशाखाले जनाएको छ।
महाशाखाको पूर्वानुमानअनुसार यस वर्ष हिउँदमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ।
(नोट: तापक्रम र चिसोका कारण स्वास्थ्यमा असर नपर्ने गरी सतर्कता अपनाउनु आवश्यक छ।)