Sunday, May 17, 2026
Homeराजनीतिकांग्रेस विभाजनको संघारमा पुगेको छ : पूर्णबहादुर खड्का

कांग्रेस विभाजनको संघारमा पुगेको छ : पूर्णबहादुर खड्का

सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का ले पार्टी विभाजनको संघारमा पुगेको बताएका छन्।

विशेष महाधिवेशनविरुद्ध निर्वाचन आयोग र सर्वोच्च अदालत पुगेका खड्काले सर्वोच्च अदालतको फैसलापछि पनि पार्टीको बृहत् एकताका लागि देशभर कार्यकर्ता भेलामार्फत सुझाव संकलन गरिने बताएका हुन्।

कर्णाली प्रदेश समितिद्वारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनकै कारण गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोरेको दाबी गरे।

उनले भने, “इतिहासमै नेपाली कांग्रेसले पहिलो पटक यस्तो हार बेहोर्नुपर्‍यो। चुनावको मुखमा गरिएको विशेष महाधिवेशनले पार्टीलाई ऊर्जा दिन सकेन।”

निर्वाचनमा हार व्यहोरेपछि पनि पार्टी नेतृत्व एकताको पक्षमा गम्भीर नदेखिएको आरोप खड्काले लगाए। उनका अनुसार नेतृत्व एकताको पहल गर्नुभन्दा पार्टीलाई थप विभाजनतर्फ लैजान सक्रिय देखिएको छ।

“नेतृत्व एकताको भन्दा पनि समूह विभाजनतर्फ उन्मुख देखियो। यसले पार्टी एकतालाई बल पुर्‍याउँदैन,” उनले भने।

खड्काले विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गर्ने प्रयास भइरहेको आरोप पनि लगाए। क्रियाशील सदस्यता अद्यावधिकको नाममा पुराना सदस्य तथा कार्यकर्तालाई पार्टीबाट बाहिर धकेल्ने काम भइरहेको उनको भनाइ थियो।

डिजिटल प्रणाली र आधुनिकताको नाममा लामो समय पार्टीमा योगदान दिएका नेता–कार्यकर्तालाई अपमानजनक ढंगले पाखा लगाउन खोजिएको उनले आरोप लगाए।

पार्टी अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उनले सबै तहका नेता तथा कार्यकर्ताको सुझाव लिन देशभर भेला आयोजना गरिएको जानकारी दिए। तल्लो तहबाट आउने सुझावका आधारमा आफ्नो समूहले आगामी निर्णय लिने उनले बताए।

“पार्टीबाट पाउनुपर्ने पद र अवसर मैले पाइसकेको छु। अब बाँकी पुस्ताको राजनीतिक भविष्यका लागि लड्नेछु,” उनले भने।

नेपाली कांग्रेस कर्णाली प्रदेश समितिले आयोजना गरेको उक्त भेलामा देउवा समूह निकट नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। संस्थापन पक्षले भने भेलालाई अघोषित बहिष्कार गरेको जनाइएको छ।

कार्यक्रममा कर्णाली प्रदेश संसदीय दलका नेता जीवन शाही, प्रदेश सभापति ललितजंग शाही लगायत नेताहरू सहभागी थिए।

यसैगरी प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्का, खड्कबहादुर बिसी, जयपति रोकाया तथा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाया लगायतको पनि सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका