काठमाडौं । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले पार्टीभित्र विश्वासको संकट गहिरिँदै गएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पार्टीको छवि नेतृत्वबाटै प्रतिबिम्बित हुने भएकाले नेतृत्व कमजोर हुँदा जनताको सपना प्रभावित हुने टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “नेतृत्व छद्मभेषी र बेइमान भयो भने जनताको सपना चकनाचुर हुन्छन् र टुटेको विश्वासले पार्टीको पुनर्जीवनमा गहिरो बाधा पुर्याउँछ।”
काफ्लेले नेतृत्वको परीक्षण आम जनता र कार्यकर्ताले गरिरहेको उल्लेख गर्दै कांग्रेसभित्र विश्वासको संकट उत्पन्न भएको दाबी गरेका छन्।
उनका अनुसार आपसी अविश्वास र आन्तरिक दाउपेचले पार्टीले लक्ष्य हासिल गर्न नसक्ने अवस्था सिर्जना भएको छ।
उनले सिद्धान्तनिष्ठ र चरित्रवान नेतृत्व निर्माण गर्दै पार्टी पुनर्निर्माणमा जुट्नुपर्ने आवश्यकता औंल्याएका छन्।
काफ्लेले कठिन परिस्थितिमा पनि साहसका साथ काम गर्दा मात्र सकारात्मक परिणाम प्राप्त हुने उल्लेख गर्दै पार्टीको मूल उद्देश्य र मूल्यमा गिरावट आएको बताएका छन्।


