काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले गगन थापालाई सम्बोधन गर्दै पार्टीभित्र एकता र रूपान्तरणको आवश्यकता रहेको बताएका छन्।
हालै सम्पन्न संघीय संसदको निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा, विधिको शासन सुदृढीकरण र राजनीतिक स्थायित्वलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनले बताए।
श्रेष्ठका अनुसार देश अहिले पुनः लयमा फर्कने प्रक्रियामा रहेको छ र गगन थापाको नेतृत्वले पार्टीभित्र आशा र स्पष्ट दिशानिर्देश दिएको छ। उनले निर्वाचन परिणामले कांग्रेसलाई समयसापेक्ष बन्न, युवाहरूको आकांक्षा आत्मसात गर्न र संगठनात्मक रूपान्तरण गर्नुपर्ने स्पष्ट सन्देश दिएको उल्लेख गरे।
उनले यस परिणामलाई केवल नेतृत्वको असफलताका रूपमा मात्र नलिई जनताको परिवर्तनको चाहनाअनुसार पार्टीलाई पूर्ण रूपमा रूपान्तरण गर्न नसकिएको चेतावनीका रूपमा बुझ्नुपर्ने बताए।
श्रेष्ठले अब वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म संगठन सुदृढीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
गगन थापाले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले पार्टीका कार्यकर्तालाई अझ दृढ बनाएको उल्लेख गर्दै श्रेष्ठले यस्तो कठिन अवस्थामा पार्टीभित्र निराशा वा विचलन ल्याउनु देश र पार्टी दुवैका लागि हितकर नहुने बताए। उनले सबै कांग्रेसीजन एकढिक्का भएर पार्टीलाई सुदृढ बनाउन लाग्नुपर्ने धारणा व्यक्त गरेका छन्।


