Wednesday, May 6, 2026
Homeराजनीतिकांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, ‘जरा अभियान’ देशभर सञ्चालन

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, ‘जरा अभियान’ देशभर सञ्चालन

काठमाडौं। नेपाली कांग्रेसले आजदेखि १५औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ। केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार शनिबारदेखि महाधिवेशन केन्द्रित गतिविधि सुरु गरिएको हो।

महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै ‘जरा अभियान’ सञ्चालन गरिएको पार्टीका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। उनका अनुसार अभियानमार्फत संगठन सुदृढीकरण, नागरिकसँग संवाद तथा सामाजिक गतिविधिसँग पार्टीलाई जोड्ने उद्देश्य राखिएको छ।

पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले देशभर ७७ वटै जिल्लामा प्रतिनिधि खटाएर विभिन्न विषयमा अन्तरक्रिया तथा संवाद गरिएको बताए। ती प्रतिनिधिहरूलाई जिल्लामा गएर गर्ने कामबारे स्पष्ट जिम्मेवारीसमेत तोकिएको उनले बताए।

उनका अनुसार बैशाख महिनाभर प्रतिनिधिहरू सम्बन्धित जिल्लामा बसेर सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुराना सदस्यता अद्यावधिक गर्ने र नयाँ सदस्यता वितरणलाई विधानअनुसार कार्यान्वयन गर्नेछन्।

यसका साथै अन्य संगठनात्मक जिम्मेवारीहरू पनि तोकिएकै अनुसार सम्पन्न गर्न निर्देशन दिइएको उनले जानकारी दिए।

केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित गरिसकेको छ। सोही कार्यतालिकाअनुसार २१ चैतदेखि सदस्यता फारम वडा तहसम्म पठाउने र देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि परिचालन गर्ने योजना बनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका