Wednesday, September 16, 2026
Homeराजनीतिकांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि, भृकुटीमण्डपमा उद्घाटन

कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि, भृकुटीमण्डपमा उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ।

काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशनको उद्घाटन हुने कार्यक्रम तय भएको छ। उद्घाटनअघि बिहान ११ बजे सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत स्थानबाट नेता तथा कार्यकर्ताहरू भेला भई र्‍यालीसहित भृकुटीमण्डप पुग्ने विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिले जनाएको छ।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा करिब ५० जना अतिथि अटाउने मञ्च निर्माण गरिएको छ। साथै मञ्च अगाडि छ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्था गरिएको छ। मञ्च वरिपरि कांग्रेसका झण्डा, गेट, ब्यानर तथा प्रचार सामग्री राखेर सजावट गरिएको आयोजक समितिले जनाएको छ।

विशेष महाधिवेशनको सभापतित्व नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ। यस महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छैन। आयोजक समितिका अनुसार मुलुकभरबाट सहभागी हुने अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका छन्।

महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजनास्थलमै खाना तथा नास्ताको व्यवस्था गरिएको छ। साथै काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६ सय प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको छ भने आवश्यक परे थप प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुने प्रबन्ध गरिएको छ।

विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा सुरु हुनेछ। बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका विषयमा भने हालसम्म विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

महामन्त्रीद्वय थापा र शर्माले पार्टी विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र अनिवार्य रूपमा महाधिवेशन आह्वान गर्नुपर्ने कानुनी व्यवस्था रहेको जनाएका छन्। उनीहरूले संयुक्त विज्ञप्तिमार्फत विधानको पालना गर्दै पार्टीलाई जीवन्त र सुदृढ बनाउन विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन प्रतिनिधिहरूलाई आह्वान गरेका छन्।

उनका अनुसार बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई मजबुत बनाउन, जनभावनाअनुसार नीति निर्माण गर्न र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टीको समग्र पुनर्निर्माणका लागि विशेष निर्णय अपरिहार्य भएको उल्लेख गरिएको छ। साथै, कठिन परिस्थितिमा पनि पार्टीलाई एकढिक्का राख्ने प्रतिबद्धता महामन्त्रीद्वयले व्यक्त गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका