Saturday, June 27, 2026
Homeराजनीतिकसैमाथि काखापाखा गर्नु हुँदैन भनेर नै हामीले लडाइँ गरेका हौँ : अध्यक्ष...

कसैमाथि काखापाखा गर्नु हुँदैन भनेर नै हामीले लडाइँ गरेका हौँ : अध्यक्ष दाहाल

वीरगञ्ज (पर्सा): नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतको तुलनामा मुस्लिम समुदायको आत्मसम्मान र पहिचान बढेको बताउनुभएको छ। तर, उहाँले मुस्लिम समुदायप्रति अझै पनि विभेद कायम रहेको उल्लेख गर्नुभएको छ।

अध्यक्ष दाहालले वीरगञ्जको वडा नम्बर १४ मा मुस्लिम समुदायका प्रतिनिधिहरूसँग आयोजित चियापान कार्यक्रममा संक्षिप्त अभिव्यक्ति दिँदै, मुस्लिम समुदायका हक, अधिकार र आवाज उठाउन निरन्तर पहल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

“मुस्लिम समुदायप्रति भइरहेको विभेद हटाउन हामीले अझै धेरै प्रयास गर्नुपर्छ। त्यसैका लागि मैले बारम्बार आवाज उठाउँदै आइरहेको छु,” उहाँले भन्नुभयो। साथै, रमजान पर्वको अवसरमा मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै, “सबै जातजाति, भाषाभाषी, र धर्म समुदायलाई समान व्यवहार गर्नुपर्छ,” भन्ने धारणा राख्नुभयो।

मधेस जागरण अभियान र माओवादीको प्रतिबद्धता
अध्यक्ष दाहालले माओवादीले अघि सारेको ‘जनतासँग माओवादी’ तथा ‘तराई-मधेस जागरण अभियान’ सामाजिक समन्वय र सद्भाव अभिवृद्धिको अभियान भएको स्पष्ट पार्नुभयो।

“यो अभियान देशमा राजनीतिक स्थायित्व कायम गर्ने उद्देश्यले अघि बढाइएको हो,” उहाँले बताउनुभयो।

नेकपा (माओवादी केन्द्र) ले हुलाकी राजमार्ग केन्द्रित मधेस जागरण अभियानअन्तर्गत शुक्रबार पर्सामा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ।

माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतोका अनुसार केही समयअघि विशेष कारणले रोकिएको मधेस जागरण अभियान बुधबारदेखि पुनः सुरु भएको छ।

“जनतासँग माओवादी कार्यक्रमअन्तर्गत अध्यक्ष दाहालसहित शीर्ष नेतृत्व पर्सामा आइसकेका छन्,” महतोले बताउनुभयो।

कार्यक्रमको तयारी र प्रमुख गतिविधिहरू
आज (बिहीबार) अध्यक्ष प्रचण्ड पर्सा आउनुभएको हो। नृसिंह माध्यमिक विद्यालय, लक्ष्मणवा-१५ मा स्थानीय नेता, कार्यकर्ता, विद्यार्थी र समुदायसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार बिहान ५:३० बजे ‘मर्निङ वाक’ कार्यक्रम समेत आयोजना गरिएको छ, जसअन्तर्गत सिप्रदीगेट बहुअरी १४ देखि घण्टाघर, मकालुचोक, आर्दशनगरचोक, घडिअर्वा, माईस्थानचोक हुँदै कार्यक्रम सञ्चालन हुने बताइएको छ।

माओवादी केन्द्रले यी कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका