काठमाडौँ: मधेश प्रदेश सरकारले कवाड व्यवसायीहरूको सम्मान, मर्यादा, र जीविकोपार्जनप्रति सदाशयता प्रकट गर्दै उनीहरूको व्यवसाय सहज र सरल ढङ्गले सञ्चालन गर्न काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको छ।
कवाड व्यवसायी समाज नेपालले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएपछि उहाँका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जारी गरेको विज्ञप्तिमा महानगरपालिकाको हालको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
विज्ञप्तिमा विधि र प्रक्रियाअनुसार सरकारी निकायमा दर्ता भई कर तिर्ने कवाड व्यवसायी तथा श्रमिकहरूको जीविकोपार्जनलाई संकटमा पार्ने कुनै पनि कदम उचित नभएको जनाइएको छ। व्यवसायलाई सुरक्षित, जोखिमरहित, र मर्यादित बनाउन मापदण्ड निर्धारण गरेर कडाइका साथ पालना गराउनु नै सही विकल्प भएको उल्लेख गरिएको छ।
त्यसैगरी, घर–घर पुगेर पुनः प्रयोगयोग्य फोहोर सङ्कलन, निर्यात, र प्रशोधन गर्ने कवाड व्यवसायीलाई विस्थापित गराउने प्रयासले रोजगारी गुम्ने खतरा बढ्ने चेतावनीसमेत दिइएको छ।