Sunday, November 8, 2026
Homeसामाचारकरेन्ट लागेर दम्पतिको मृत्यु: मधेश सरकारद्वारा नागरिक बीमाको पहल

करेन्ट लागेर दम्पतिको मृत्यु: मधेश सरकारद्वारा नागरिक बीमाको पहल

जनकपुर । सप्तरीको रूपनी गाउँपालिका–२ का बालेश्वर खंग र उनकी श्रीमती रामकुमारी खंगको करेन्ट लागेर मृत्यु भएपछि मधेश प्रदेश सरकारले पीडित परिवारलाई नागरिक बीमा सुविधा दिलाउने पहल थालेको छ।

गत शुक्रवार साँझ सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा बालेश्वर खंगको मृत्यु भएको थियो। उनलाई बचाउन गएकी श्रीमती रामकुमारी खंगको पनि घटनास्थलमै मृत्यु भएको थियो। दैनिक मजदुरीमा जीवन गुजारा गर्दै आएका खंग दम्पति पछाडि आश्रित परिवार छोडेर गएपछि शोकमा डुबेको परिवारलाई प्रदेश सरकारले सान्त्वना दिँदै बीमा सुविधा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो।

मधेश प्रदेश सरकारको उच्चस्तरीय टोली बिहीबार रूपनी–२, पौंवा टोलस्थित पीडित परिवारको घरमा पुगेर समवेदना प्रकट गर्नुका साथै बीमा प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो। टोलीमा खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झा, उपसचिव धर्मेन्द्र लाल कर्ण तथा बीमा कम्पनीका प्रतिनिधि सहभागी थिए।

टोलीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनसँग भेटघाट गरेको थियो। साथै, मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू गरेको नागरिक बीमा कार्यक्रमअन्तर्गत पीडित परिवारलाई बीमा सुविधा उपलब्ध गराउन आवश्यक कागजात संकलन सुरु गरिएको जानकारी पनि दिएको छ। प्रक्रिया सहज बनाउन स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय भइरहेको टोलीले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका