काठमाडौँ । कमल थापा ले न्यायपालिका लगायत संवैधानिक निकायहरूमा हुने दलीय भागबण्डाको राजनीति अन्त्य गर्न प्रधानमन्त्री बालेन्द्र शाह सँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले नयाँ प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा यस्तो धारणा सार्वजनिक गरेका हुन्।
थापाले विगतदेखि चल्दै आएको विकृत परम्परा र कथित वरीयताको नाममा पार्टीगत भागबण्डाका आधारमा न्यायालयमा दीर्घकालीन ‘सेटिङ’ गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफूलाई कुनै व्यक्ति विशेषप्रति रिस, राग वा पूर्वाग्रह नरहेको तथा आकांक्षीमध्ये केही योग्य व्यक्तिहरू पनि रहेको स्पष्ट पारे।
उनले गत भदौको जेन्जी आन्दोलन, फागुन २१ गतेको नयाँ जनादेश तथा त्यसकै आधारमा बालेन शाह प्रधानमन्त्री बनेको घटनालाई स्मरण गर्दै पुरानै राजनीतिक बेथिति दोहोर्याउन नहुने बताएका छन्। पार्टीगत भागबण्डा र राजनीतिक सेटिङका कारण मुलुकमा अस्थिरता, भ्रष्टाचार र कानुनी शासन कमजोर बनेको उनको भनाइ छ।
थापाले राजनीतिक दलका कार्यकर्ता, सहयोगी वा शुभचिन्तकलाई कथित परम्परा र वरीयताको नाममा न्यायालयको सर्वोच्च पदमा पुरस्कृत गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने माग गरेका छन्।
सुशासन र आर्थिक समृद्धिका लागि प्रधानमन्त्री शाहले पुरानो विकृत परम्परा तोड्दै नयाँ इतिहास रच्ने साहस देखाउने विश्वास व्यक्त गर्दै उनले सरकारलाई शुभकामना समेत दिएका छन्।


