झापा: झापा जिल्लाको झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ लाई जोड्ने कन्काई नदीमाथि निर्माणाधीन पुल विगत १३ वर्षदेखि अलपत्र परेको छ।
विसं २०६८ मा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म पुल निर्माणको ५८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। निर्माण पूरा नहुँदा स्थानीय बासिन्दा कठिनाइ भोगिरहेका छन्, भने यो पुल सम्पन्न भएको भए झापा र कोशी प्रदेशको राजधानी विराटनगरबीचको यातायात सहज हुने र व्यापार, व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने थियो।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० मा ठेक्का दिइएको पुल २०७२ जेठ २९ मा सक्नुपर्ने समयसीमा तोकिएको थियो। पाँच पटकसम्म ठेक्काको म्याद थप भए पनि, २०८० असारमा अन्तिम म्याद सकिएपछि निर्माण कार्य रोकिएको छ। सूचना अधिकारी इञ्जिनियर प्रभात किरण राईका अनुसार प्राविधिक त्रुटि देखिएपछि पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले समस्या अध्ययन गरी प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदनमा समस्या समाधानका लागि निर्देशन दिइए पनि निर्माण कम्पनीले काम अघि नबढाएको र अब ठेक्का रद्द गरी नयाँ प्रक्रिया थाल्ने तयारी भइरहेको जनाइएको छ।
गौरीगञ्ज–१ का प्रदेशसभा सदस्य लखीकुमारी गणेशले लागत अनुमानअनुसार काम नभएकाले समस्या आएको बताउँदै, पुरानै ठेक्का प्रक्रियाबाट काम सम्पन्न गरिनुपर्ने बताइन्। स्थानीय वडाध्यक्ष हिमालकुमार चाम्लागाईंले पटक-पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएकोमा दुःख व्यक्त गरे।
पुल निर्माण नहुँदा आवतजावतमा समस्या भएपछि बर्खायाममा डुङ्गा सञ्चालन र हिउँदमा बाँसको पुल निर्माण गरिएको छ। बाँसको पुल निर्माण गरेका ईश्वर माझीले मोटरसाइकल र पैदल यात्रुबाट शुल्क लिने गरेको बताए। विरोधपछि यात्रा निःशुल्क गर्नेबारे संवाद भइरहेको गौरीगञ्ज–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए।
लामो समयदेखि पुल निर्माण अलपत्र परेपछि जोखिम मोलेर यात्रा गर्न बाध्य भएका स्थानीयहरूले छिटो पुल सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।