नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाउँदा पार्टीलाई धेरै ठूलो क्षति भएको बताएका छन् । कैलालीको मसुरियामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले तीन महिनापछि आफै जाने प्रधानसेनापति कटुवाल हटाउनु कमजोरी भएको स्वीकार गरे ।
‘रुक्माङ्गत कटुवाल तीन महिनापछि त्यसै जानेवाला थियो । दायाँतिर बादल बाँयातिर बाबुराम ठोक भन्छन् जतिबेला पनि । एउटालाई रक्षामन्त्री बनाएको ठोक ठोक भन्छन् । अर्को अर्थमन्त्रीले पनि यसलाई ठोकिहाल्ने हो भन्छन्’ प्रचण्डले भने, ‘म अलि लाटो सोझो पनि छु क्या । यिनीहरु मात्रै के कम भनेर ठोक्दिहाले त्यसपछि के हुन्थ्यो मेरै प्रधानमन्त्री गयो ।’ जनयुद्धमा जस्तै बाबुराम बादलले भनेको जस्तै हुन्न भनेको भए देशको स्थिति अर्के अवस्था पुग्ने प्रचण्डले दाबी गरे ।
‘हामीले ०६४ मा बहुमत ल्याएपछि साथीहरुले हामीले यत्रो जितेका छौ । राष्ट्रपति पनि हाम्रै चाहिन्छ प्रधानमन्त्री पनि हाम्रै चाहिन्छ । उपराष्ट्रपति पनि हाम्रै चाहिन्छ भन्दा हुन्छ भन्दिए ’ प्रचण्डले भने, ‘विचरा बुढो गिरिजालाई जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भयो । जसले जीन्दगीभर राजतन्त्र भनेको मान्छे मर्ने बेलामा गणतन्त्र भनेर माओवादीसँग हात मिलाएर आए । त्यस्तो बुढालाई राष्ट्रपति बनाउन पाइएन ।’ यदि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाएको भए शान्ति सम्झौता अझ राम्रो गरेर टुंगो लाग्नुका साथै संविधान अझ बन्ने बताए । पार्टीका नेताहरुको लहलहीमा लागेर पाँच वर्ष चल्ने सरकार बीचमै ढलेको बताए ।


