काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले वातावरण संरक्षणमा गरेको योगदानको उचित मूल्यांकन पाएको छैन भनी बताएका छन्।
वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा बोल्दै ओलीले एमालेको राजनीति केवल सत्ता वा चुनावमा सीमित नभई मानवजाति, वातावरण र समग्र इको–सिस्टमको संरक्षणतिर उन्मुख रहेको बताएका छन्।
उनले भने, “हाम्रो पहिलो निष्ठा देशवासी र मानवजातिप्रति हो। हामी केवल चुनाव वा सरकारमा मात्र सीमित छैनौँ, मानवजातिलाई आवश्यक सबै पक्षप्रति हाम्रो गम्भीर ध्यान छ।”
ओलीले नेपालमा ठूलो भूभाग वन क्षेत्रले ढाकिएको र वन्यजन्तुको दिगो व्यवस्थापनका लागि क्षमता अनुसार मात्र संरक्षण नीति अघि सारिनुपर्ने बताएका छन्। उनले उदाहरण दिनुहुँदै भने, “हाम्रा वनले धान्ने संख्यामा मात्रै बाघ पाल्नुपर्छ। हौसिने काम गर्नुहुँदैन, हौसियो भने बाघले मान्छे गन्दैन।”
वातावरणीय असन्तुलन र जलवायु अन्यायको प्रसङ्गमा ओलीले भने, “हामी वातावरण जोगाइरहेका छौँ, तर गरिबी बोकेका छौँ। हामीले तेल किनेरे चलाउनुपर्छ, वातावरण बिगार्नेले अक्सिजन सित्तैमा पाउने यो मुलुकका लागि न्याय होइन।”
उनले सुरक्षित विश्व, सुरक्षित पृथ्वी र सुरक्षित मानव भविष्यका लागि इको–सिस्टमलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।


